सूर्यविनायकको नगरप्रमुखलाई कांग्रेसको १४ बुँदें ध्यानाकर्षपत्र

भक्तपुर, असार ४
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले मंगलवार सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापालाई १४ बुँदें ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको नगरपालिकालाई कांग्रेसले विकास निर्माणका योजना, नीति निर्माण, शिक्षा, स्वास्थ्य। सहकारीलगायतका १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्र बुझाएपछि नगरसमितिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सूर्यविनायक नगरसभापति निशान ढुंगेलले नगरले गरेका राम्रा कामको प्रशंसा गर्दै नगरलाई व्यवस्थित गर्न र नगरवासीको सहज र सरल तरिकाले सेवा सुविधा प्राप्त गर्न पाउने अधिकारलाई ध्यानमा राखी केही विषयमा नगरप्रमुखको ध्यानाकर्षण गरेको बताउनुभयो ।
नगसभापति ढुंगेलले भु–बर्गीकरण नीति, नेपाल रेडक्रस सोसाइटी भक्तपुर सँगको सहकार्यमा नगरवासीलाई निःशुल्क रक्त उपलब्धताको व्यवस्था, निःशुल्क शववहान सेवा, हनुमन्ते करिडोरमा नक्शा पासको व्यवस्था नगरक्षेत्रको विद्यालयहरुमा प्रतिस्पर्धाद्धारा प्रधानाध्यापकको छनौट, शिव सर्किट निर्माण, लौकुरी भञ्याङ्ग देखि साँगा सम्म पर्यटन मार्ग घोषण, मेलम्चीको पानीलाई सूर्यविनायक नगरपालिकाका थप वडाहरुमा उपलब्ध गराउने प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।
तर दिगो विकासको सवालमा नगरपालिका चुकेको उहाँले आरोप लगाउनुभयो । विकासका नाममा कतिपय सडकहरु ढल नबिच्छ्याई कालोपत्रे गरिएको बताउँदैं ढुंगेलले ती हेर्दा विकास भए पनि अन्ततः नीतिगत भ्रष्टाचार भएको टिप्पणी गर्नुभयो ।
“राज्यको करोडौं लगानी गरेर गरिएको कालोपत्रे केही महिनामा ढल बिच्छ्याउने नाममा भत्काउनु पर्ने भएपछि कसरी विकास मान्ने ? त्यो त नीतिगत भ्रष्टाचार भएन र ?,” उहाँले प्रश्न गर्नुभयो ।


ध्यानकषर्णपत्रमा सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्नुपर्ने, प्रत्येक वडामा एक विशेषज्ञ सेवा सहितको ५ शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने, नगर क्षेत्रका सामुदायिक विद्यालयहरुको भौतिक पुर्वाधार विकासलाई बालमैत्री र अपाङ्गमैत्री बनाईनुपर्ने, सबै विद्यालयहरुमा प्रविधियुक्त शिक्षण विधि लागु गर्नुपर्ने, नगरका आवश्यक स्थानहरुमा सार्वजनिक सौचालय निर्माण गर्नुपर्ने उल्लेख छ ।
खानेपानी समस्या देखिएका क्षेत्रहरुमा तत्काल सफा, स्वच्छ खानेपानी व्यवस्था गर्नुपर्ने, नगरक्षेत्रका खानेपानी उपभोक्ता समितिको अनुगमन गरी मुल्याङ्कन गर्ने पद्धती बसाल्नुपर्ने, सूर्यविनायक न.पा. भित्रको प्राकृतिक श्रोतको पहिचान गरी आत्मनिर्भर हुन वडा नं. ८ को सिपाडोलस्थित आशापुरीलगायत क्षेत्रको मूलको पानी संकलन गरी नगरवासीहरुमा यथासम्भव पानी वितरणको व्यवस्थापन गर्नुपर्ने माग कांग्रेसले गरेको छ ।
नगरको समृद्धि र दिर्घकालिन निरन्तर आयस्रोतको सम्भावना बाकेको पर्यटन क्षेत्रको विकासका लागि शिव सर्किट तथा पर्यटन पदमार्गको व्यापक प्रचार प्रसार एवं आवश्यक पुर्वाधार निर्माण गर्नुपर्ने, लाकुरी भञ्ज्याङ्देखि साँगा सम्मको क्षेत्रलाई पर्यटन पदमार्ग सँगसँगै पर्याय पर्यटन क्षेत्रको रुपमा विकास गर्न न्युनतम पुर्वाधार विकास सहित नीजि क्षेत्रको सहभागितामा विभिन्न स्थानहरुमा योग, ध्यान, रिक्रियशन सेन्टरको रुपमा विकास गर्नेपर्ने, वडा नं. ४ मा निर्माण भएको भ्यूटावरको सही सदुपयोग गर्न त्यस्ता स्थानहरुलाई नीजि क्षेत्र आकर्षित हुने गरी दीर्घकालिन लिज पद्धतीमा जान आवश्यक नीति निर्माण गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
यसैगरी स्थानीय कला, संस्कृति, जात्रा, पर्व, मठ मन्दीर, बाजागाजा संरक्षण, सम्बर्धन तथा प्रवद्र्धनका लागि विशेष ध्यान दिनुपर्ने, नगदेवाली, पुष्पखेती, पशुपंक्षी पालन गरिरहेका किसानहरुका लागि उत्प्रेरित गर्ने प्रकृतिको कार्यक्रम कृषिमा युवा वर्गको आकर्षण बढाउन अनुदान तथा सहुलियत कर्जाको व्यवस्था गर्नुपर्ने माग पनि कांग्रेसले गरेको छ ।
कृषि बजारीकरणका लागि नगरपालिकाको कम्तीमा दुई स्थानमा कृषि वस्तु बेच बिखन गर्न कृषि चोक बजारको निर्माण गर्नुपर्ने, प्रस्तावित नगर औद्योगिक ग्रामको यथाशिघ्र निर्माण तथा संचालन गर्नुपर्ने, नगर क्षेत्रभित्र निर्माण शुरु गरी सम्पन्न हुन नसकेका सडक, पुल, पुलेसा, विद्युत, खानेपानी लगायतका पुर्वाधारका कामहरु अविलम्बन सम्पन्न गर्नुपर्ने, चरखण्डी खोला लगायत अन्य खोला तथा खोल्सीहरुको उचित मापदण्ड कायम गरी करिडोेर निर्माण गर्नुपर्ने, नगरको शहरी, भौतिक, पर्यटकीय, कृषी, औद्योगिक क्षेत्रको एकीकृत पुर्वाधार योजना अन्तर्गत विकास गर्न पनि ध्यानाकर्षण गराएको छ ।
सम्पूर्ण वडाहरुलाई समेट्ने गरी नगर रुट कायम गरी नगर बस सेवा सञ्चालन गर्नुपर्ने, नीजि क्षेत्रले जग्गा प्लटिङ् गर्दा सार्वजनिक जग्गा अतिक्रमण नहुने व्यवस्था गर्नुपर्ने, सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने, हनुमन्ते लगायत सबै नदी किनारहरुमा जग्गा नक्सा पास गर्दा न्यायपुर्ण मापदण्ड निर्धारण गर्नुपर्ने माग कांग्रेसको छ ।


नगर क्षेत्रभित्र रहेका सामुदायिक, नीजि र धार्मिक वन को संरक्षणमा जोड दिनुपर्ने, नगरक्षेत्रका पानीका मुहानहरुको संरक्षण गर्नुपर्ने, राष्ट्रिय प्राणी उद्यान यथाशीघ्र पुरा गर्न सम्बन्धित निकायमा पहल गर्नुपर्ने, गणेशमान बाटिका क्षेत्र आध्यात्मिक तथा पर्याय पर्यटनसँग पनि सम्बन्धित भएका कारण सो क्षेत्रको विकास र संरक्षणमा नगरपालिकाले अपनत्व ग्रहण गर्नुपर्ने, नगरपालिकाबाट प्रदान गरिने सेवा–सुविधा छिटो, छरितो र प्रविधिमैत्री हुनुपर्ने, उपभोक्ता समिति गठनको सम्बन्धमा ब्यापक जनगुनासो रहेकोले सरोकारवाला समुह सम्बन्धित क्षेत्रका उपभोक्ताहरुको ब्यापक भेला गरी वास्तविक उपभोक्ताको समिति बनाईनुपर्ने उल्लेख छ ।
करका दर नभई दायरा बढाएर कर, करले होइन रहरले तिर्ने मैत्रीपुर्ण कर प्रसाशन नीति लागु गर्नुपर्ने, आगामी ३ वर्षलाई लक्षित गरी नगर भित्रका बुद्धिजीवि, योजनाविद, समाजसेवी, सम्पुर्ण राजनैतिक दलको व्यापक सहभागितामा बडा तथा नगर गौरवका योजना पहिचान गरी कार्यान्वयन गर्नुपर्ने, राष्ट्रिय रुपमा बढ्दो सहकारी समस्यालाई समाधान गर्नको लागि कार्ययोजना सहितको अनुगमन निरिक्षण गरी बचतकर्ताको बचत रकम संरक्षण, सुरक्षित गर्न आवश्यक प्रवन्ध गर्नुपर्ने, सहकारी सिद्धान्त मर्म र भावना विपरित कार्य गर्नेलाई कारबाही गर्नुपर्ने माग कांग्रेसले गरेको छ ।
नगरपालिकाले विकास योजना तयार गर्दा प्राकृतिक स्रोत संरक्षण तथा व्यवस्थापन गर्दै दीगो विकास लक्ष्य समेतलाई ध्यानमा राख्दै उपलब्ध स्रोत र साधनको उच्चतम उपयोग गर्ने नीति लिनुपर्ने, विकास योजना कार्यान्वयन गर्दा अधिकतम सहमति न्युनतम क्षतिको नीति अबलम्बन गर्नुपर्ने, जनप्रतिनिधि जनताका सेवक हुन शासक होइनन् भन्ने मान्यतालाई आम नगरवासीले अनुभव गर्ने गरी व्यवहारमा उतार्नुपर्ने माग ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको कांग्रेस सूर्यविनायक नगर प्रवक्ता रमेश खड्काले बताउनुभयो ।
ध्यानाकर्षणपत्र बुझ्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले कांग्रेसले उठाएका कतिपय विषयवस्तु कार्यान्वयन भइरहेको र बाँकी पनि नगरको स्रोत र साधनको अधिकतम उपयोग गरी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले नगरपालिकाले राजनीतिमा प्रतिष्पर्धा र विकासमा ऐक्यवद्धता भन्ने मूल सिद्धान्त अनुसार नगरपालिकाले कार्य गरिरहेको भन्दै कांग्रेसको ध्यानाकर्षपत्र आफ्नो लागि उर्जा भएको बताउनुभयो । उहाँले भ्रष्टाचार र अनियमितता आफुले पनि नगर्ने र अन्य जनप्रतिनिधि र कर्मचारीलाई गर्न नदिने प्रतिवद्धता जनाउनुभयो ।