‘कनेक्टिङ कर्णाली’–२ हजारले गरे अवलोकन

भक्तपुर, असार ४
शब्द, दृश्य, चित्र र उत्पादनमार्फत् कर्णालीलाई राजधानीसँग जोड्न काठमाण्डौंमा आयोजित तीन दिने ‘कनेक्टिङ कर्णाली’ अभियान सोमवार सम्पन्न भएको छ । मनघरी फाउण्डेशनले नयाँबानेश्वरको बानेश्वर एन बी सेन्टर उमोजा कफीमा आयोजित अभियानमा कर्णालीको फोटो प्रदर्शनीका साथै उत्पादनहरु राखिएको थियो ।
प्रदर्शनीमा कर्णालीलाई राष्ट्रिय ÷अन्तराष्ट्रिय स्तरमा चिनाउन दैलेखका फोटो पत्रकारद्धय विशाल सुनार र भरतबन्धु थापाद्वारा खिचिएको ३२ वटा फोटो र ५ वटा भिडियो राखिएको थियो ।
युवा पत्रकारहरूको सुन्दर प्रयासलाई उत्साह प्रदान गर्न प्रदर्शनीको अन्तिम दिन सोमवार कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य ललिता साह, पत्रकारहरू टिकाराम यात्री, भुवन शर्मा, राजीव खत्री, गायिका भावना आचार्य तथा सप्तरी जिल्ला समन्वय सभापति शिव नारायण साह लगायतले अवलोकन गरेका थिए ।


प्रदर्शनीले भौगोलिक विकटताका बीच विकासको बेग अघि बढाएको कर्णालीमा अब अभाव र पीडा मात्रै नभई सम्भावना र अवसर रहेको उनीहरुले बताएका छन । “कर्णाली झै देशको हरेक कुना कप्चाले विकासको सम्भावना र अवसर बोकेका छन । युवा पुस्ताले यस्ता सिर्जनात्मक र अनुकरणीय कार्य गर्न सक्नु आफैंमा उदाहरणीय कार्य हो,” कर्णालीका पुर्वमुख्यमन्त्री शाहीले भन्नुभयो ।
मनघरी फाउन्डेसनको अगुवाइमा सुरु भएको ‘कनेक्टिङ कर्णाली’ अभियान दश महिनासम्म जारी रहने आयोजक एवं ‘कनेक्टिङ कर्णाली’का परिकल्पनाकार भरतबन्धु थापाले जानकारी दिनुभयो । कर्णालीको चौतर्फी पहिचान झल्किने सुन्दर अमूल्य तस्वीरहरुसहितको प्रदर्शनी करिव २ हजार जनाले अवलोकन गरेको थापाले बताउनुभयो ।