आइसीसी टि–२० विश्वकपमा नेपाल बंगलादेशसँग पराजित

भक्तपुर, असार ३
आइसीसी टि–२० विश्वकपमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा अलआउट हुँदैं विश्वकपको आफ्नो अन्तिम खेलमा पराजित हुन पुगेको हो ।
किंग्सटाउनस्थित ओर्नोस वेल ग्राउन्ड, सेन्ट भिन्सेन्टमा टस जितेर पहिला ब्याटिङ थालेको बंगालदेशले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन बनाएको हो । बंगलादेशका शकिब अल हसनले सर्वाधिक १७ रन बनाए । २२ बल खेलेका उनले दुई चौका प्रहार गरे । महमुदुल्लाह १३, रिशाद हुसेन १३, जाकर अली १२ र लिटनकुमार दास १० रनमा आउट हुँदा तस्किन अहमद १२ रनमा अविजित रहे ।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दिप लामिछानेले समान २÷२ विकेट लिए । कप्तान रोहितले ४ ओभरमा २० रन खर्चिए । सन्दिपले ४ ओभरको आफ्नो कोटा पुरा गर्दै १ मेडन सहित १७ रन दिए । यस्तै कुशल भुर्तेलले भने ४ ओभरमा २२ रन दिएर कुनै विकेट लिएनन् । १९औं ओभरमा पहिलो ओभर बलिङ गरेका अविनाश बोहोराले १ ओभरमा १० रन खर्चिए ।
बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा समेटियो । हार बेहोरेसंगै नेपाल लगातार दुई खेलमा टेस्ट राष्ट्र विरुद्ध जित हासिल गर्नबाट चुकेको छ । बंगलादेश भने सुपर एटमा प्रवेश गरेको छ ।
१५ बलमा २२ रन चाहिएको अवस्थामा लगातार ११ वटा डट बलको सामना गर्दै नेपालले हार बेहोर्न पुग्यो । नेपालले सो ११ बलमा अन्तिम ४ विकेट गुमाएको थियो । अन्तिम तीन ओभरमा नेपाललाई जितका लागि २९ रन चाहिएकोमा नेपालले १८औं ओभरमा ७ रन ल्याउन सफल भयो ।


मुस्तफिजुर रहमानले १९औं ओभरमा विकेट मेडन गरे । सो ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरी ३१ बलमा २५ रन बनाएर आउट भए । अन्तिम ओभरको पहिलो बलमा शाकिब अल हसनले सोमपाल कामीलाई स्टम्प गराए । दोस्रो बलमा अविनाश बोहोरा पनि आउट भएपछि नेपालले हार बेहोर्न पुग्यो ।
ओपनर कुशल भुर्तेलको ब्याटिङ तर्फ खराब लय बंगलादेशसँग पनि जारी नै रह्यो । दोस्रो ओभरमा उनी तान्जिम हसन साकिबको फूल टस बलमा ४ रन बनाएर बोल्ड भए ।
अनिल साहको ब्याट आज भने चल्न सकेन । उनी तेस्रो ओभरमा शून्यमा तान्जिम कै बलमा क्याच आउट भए । कप्तान रोहित पौडेल १ रन बनाएर पाँचौं ओभरमा रिशाद होसेनद्वारा समातिए ।


केही आशालाग्दो सुरुवात पाएका आशिफ शेखलाई मुस्तफिजुर रहमानले आफ्नो शिकार बनाए । आशिफ १४ बलमा ४ चौका सहित १७ रन बनाएर शाकिबको हातबाट समातिए । सन्दिप जोराले पनि सम्झनलायक ब्याटिङ गर्न सकेनन् । उनलाई तान्जिमले पोइन्टमा रिशादकै हातबाट क्याच आउट गराए ।
पाँचौं विकेटका लागि कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी मिलेर ५२ रनको साझेदारी गरेका थिए । २६–५ को अवस्थाबाट इनिङ उकासेका सो साझेदारी कुशल मल्ललाई आउट गर्दै मुस्तफिजुरले तोडेका थिए । कुशल मल्लले ४० बलमा १ चौका र १ छक्का प्रहार गर्दै २७ रन बनाएका थिए । तर सो विकेटपछि भने नेपालले सम्हालिन नसक्दा सबै विकेट गुमाउन पुग्यो ।


बंगलादेशका लागि तान्जिम हसन सकिबले ४ ओभरमा २ मेडन सहित ७ रन दिएर ४ विकेट लिए । मुस्तफिजुर रहमानले ४ ओभरमा १ मेडन सहित ७ रन नै दिएर ३ विकेट लिए । शाकिब अल हसनले २ विकेट लिए भने १ विकेट तास्किन अहमदको नाममा रह्यो ।