कांग्रेस देश र जनता विरोधी शक्तिको भूकम्पले ढल्दैन – महामन्त्री शर्मा

ललिता साह, भक्तपुर, असार १
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस देश र जनता विरोधी शक्तिको भूकम्पले ढलिहाल्ने पार्टी नभएको बताउनुभएको छ ।
शहिद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानले शनिवार आयोजित ‘शहिद राधेश्याम जोन्छें व्यक्ति र व्यक्तित्व’ विषयक प्रवचन कार्यक्रममा महामन्त्री शर्माले देशको अनेक कालखण्डमा सामन्ती सताको विपक्षमा बोल्ने एकमा एक शक्तिशाली नेताहरूको बलिदानीको जगमा १२ रेक्टरको भूकम्प थाम्न सक्ने गरी बलियो बनेको कांग्रेस, देश र जनता विरोधी कुनै शक्तिको भूकम्पले नढल्ने बताउनुभएको हो ।
उहाँले राणा र राजाको शासन कालमा मात्र नभई माओवादीको जनयुद्धमा समेत कांग्रेसीहरु मारिएको प्रसङ्गहरु कोट्याउँदै तीनै माओवादीहरुलाई क्यान्टोन्मेन्टमा बन्दूक बिसाउन लगाएर, शान्ति प्रक्रियामा ल्याएर, दुई हात जोडेर जनताको मत माग्ने बनाएको ठूलो छाती भएको पार्टी कांग्रेस भएको बताउनुभयो ।
उहाँले कांग्रेसको विरोध वर्तमान सरकारका गृहमन्त्रीको नभएको बताउँदैं दुःख गरेर कमाएको पैसा डुबाएका सहकारीको बदमासी र गिरीबन्धु टि स्टेट कम्पनीको जग्गा सट्टापट्टा गरे बेच्न खोज्ने भू–माफियालाई कानूनी कारवाहीमा ल्याउन र ठगीमा परेका जनताको न्याय दिने एजेण्डालाई उठाएको स्पष्ट पार्नुभयो ।
शहिद राधेश्याम जोन्छेंलाई दिवंगत भएर पनि बाँचिरहने योद्धाको संज्ञा दिँदैं उहाँले स्व. जोन्छें विचारको, श्रद्धाको र निष्ठाको जीवन बाँचेकै कारण सर्वदा प्रताडना सहेर दिवंगत भएर पनि बाँचिरहने व्यक्ति मध्येका एक योद्धा भएको बताउनुभएको हो ।


नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाले जोन्छे निडर र कोहीसँग नझुक्ने नेता भएको बताउनुभयो । “जोन्छें निडर भएर कोहीसँग नझुकेकै कारण नेपाल मजदुर किसान पार्टीले मात्रै दुव्र्यवहार गरेन, माओवादीले गोली ठोक्यो । आफ्नै पार्टी कांग्रेसले पनि उहाँ र भक्तपुर कांग्रेससँग न्याय गरेन,” थापाले भन्नुभयो ।
उहाँले कांग्रेसका गरेका राम्रा कामको प्रचार गर्न नसक्नु गल्ती कमजोरी भएको बताउँदैं कांग्रेसले गरेका राम्रा काम पत्रकारिताको माध्यमले बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले माओवादीको कडा आलोचक भएकै कारण माओवादीले जोन्छेंलाई निवासमै गोली हानेको बताउनुभयो ।
नेपाली कांग्रेस भक्तपुरका पूर्वसभापति तिलक प्रकाश कायस्थले कोही डराउँछ भनेर राजनितिमा सत्य बोल्न छाड्न नहुने बताउनुभयो । तत्कालिन माओवादीको गतिविधी विरुद्ध बोलेकै कारण जोन्छेंलाई गोली हानेको बताउँदैं उहाँले प्रजातन्त्रवादीहरु स्वाभिमानी हुने भएकाले त्यो स्वाभिमान बचाउन सक्नुपर्नेमा जोड दिनुभयो ।
चाँगुनारायण नगपालिकाका नगर प्रमुख जीवन खत्रीले स्व. जोन्छें सिद्धान्तप्रति अडिग रहेर संगठनलाई उत्प्रेरणा दिइरहने नेता भएको टिप्पणी गर्नुभयो । प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवम् वरिष्ठ अधिवक्ता बाबुराजा जोशीले कॉंग्रेसको सुदृढिकरणका लागि स्व. जोन्छेको व्यक्तित्वबाट प्ररेणा लिनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति गंणेशमान चक्रधरले आफ्नो कुरा स्पष्ट राख्ने निडर स्वभावका जोन्छे जस्तो व्यक्तित्व अहिले पार्टीमा कोही नभएको बताउँदैं पार्टीको विषयमा सधै चिन्तित रहने जोन्छेको बाटोमा सबै हिड्न सके पार्टी धेरै अघि बढ्ने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका महासचिव जगन्नाथ कार्की, कांग्रेस नेता कविर राणा, मुरारी प्रसाद आचार्यलगायतले नेपाली कांग्रेस पार्टीका लागि जोन्छेले पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।
सो अवसरमा प्रतिष्ठानकी अध्यक्ष एवं बागमती प्रदेशका पुर्व राज्यमन्त्री रजनी जोन्छेले २०६९ मंसिरमा स्थापना भएको प्रतिष्ठानको भवन र शालिक निर्माणका क्रममा रहेको बताउनुभयो । उहाँले छात्रवृत्तिलाई थप बिस्तार गर्न जोन्छे परिवारबाट ५ लाखको अक्षयकोष स्थापना गर्न लागेको जानकारी दिदै त्यसबाट आगामी वर्षबाट थप बिद्यार्थीलाई छात्रबृति प्रदान गरिने बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका पदम बहादुर पौडेलले प्रतिष्ठानको लागि तीन आना जग्गा निःशुल्क प्रदान गर्ने घोषणा गर्नुभयो भने मेधा मावि भक्तपुरमा अध्ययनरत प्रतिष्ठा खड्कालाई नगद १२ हजार र सुवर्णेश्वर आधारभुत विद्यालयका दुई छात्रा प्रतिमा लगाई र आरएन गुरुङ्गलाई जनही ८÷८ हजार छात्रवृत्ति वितरण गरिएको थियो ।