सामाजिक संघसंस्थामा राजनीति नगरौं – सांसद थापा

भक्तपुर, जेठ ३२
प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले सामाजिक संघसंस्थामा राजनीति गर्न नहुने बताउनुभएको छ । २० औं विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले शुक्रवार आयोजित कार्यक्रममा सांसद थापाले मानव सेवाका लागि स्थापित सामाजिक संघसंस्थामा राजनीतिका कारण विवाद उत्पन्न हुने गरेको बताउँदैं ती संस्थाहरु राजनीतिको घेराभन्दा माथी राख्नुपर्नेमा जोड दिनुभयो ।
“राजनीतिका कारण सामाजिक संघसंस्थामा विवाद उत्पन्न हुने गरेको छ । त्यसैले सामाजिक संघसंस्थामा राजनीति नगरौं । राजनीतिको घेराभन्दा माथी राखौं,” उहाँले भन्नुभयो ।


कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सभ्य समाज निर्माणका लागि सबैले आ–आफ्नो स्थानबाट योगदान दिनुपर्नेमा जोड दिनुभयो ।स्वयम्सेवी रक्तदाताहरुको मानवीय सेवाभावका कारण कयौं नागरिकले पुनर्जीवन प्राप्त गरेको चर्चा गर्दै उहाँले रक्तदाताहरुको मानवीय सेवाबाट अरुले पनि प्रेरणा लिनुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रोसनी कुमारी श्रेष्ठले रेडक्रस जस्तो मानवीय सेवा प्रदान गर्ने संस्थामा विवाद हुनु राम्रो सन्देश नगएको बताउँदैं रेडक्रसको विवाद छिटो भन्दा छिटो समाधान हुनुपर्नेमा जोड दिनुभयो । उहाँले रेडक्रसको विवादले आमनागरिकमा शंका उत्पन्न गराएको बताउनुभयो ।


नेपाल रेडक्रस सोसाईटी भक्तपुरका पुर्वसभापति बालमुकुन्द सुवालले रेडक्रस भक्तपुरलाई यहाँसम्म ल्याउन थुप्रै अग्रज एवम् रेडक्रस अभियन्ताहरुको योगदान रहेको चर्चा गर्दै रेडक्रस जस्तो संस्थामा दलिय विचारको आधारमा विभाजन ल्याउन खोज्नु र विवाद निम्त्याउन खोज्नु जायज नभएको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाका सदस्य एवम् रक्त सञ्चार समितिका संयोजक सोम प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा ब्लोदानका अध्यक्ष ई. सानुबाबु प्रजापति, नेपाल रेडक्रस सोसाईटी भक्तपुरका सभापति परशुराम पाण्डेलगायतले रेडक्रसले प्रदान गरेका मानवीय सेवा र रक्त सञ्चार केन्द्र भक्तपुरले प्रदान गर्दै आइरहेको सेवाका बारेमा चर्चा गर्नुभएको थियो ।


सो अवसरमा नेपाल रेडक्रस सोसाईटी भक्तपुरले केन्द्रमा आकस्मिकरुपमा एक वर्षभित्र ३ पटक भन्दा माथी रक्तदान गर्ने रक्तदाता, नेगेटिभ रक्त समूह भएका दाताहरु मध्ये २ पटकभन्दा बढी रक्तदान गर्ने दाता, एक पटकमा एक सय पिन्ट भन्दा बढी रक्तदान गराउने संघसंस्थाहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी भक्तपुरलाई नविल बैंकले रक्तदान चियर र आकाश तारा वचत तथा ऋण सहकारी संस्थाले रक्तचाप नाप्ने मेसिन सहयोग गरेको थियो ।