रेडक्रस भक्तपुरको रक्त सञ्चार केन्द्रले एक वर्षमा ५१ हजार पिन्ट रगत वितरण

भक्तपुर, जेठ ३१
नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रले एक वर्षमा ५१ हजार २५१ पिन्ट रगत एवम् रक्ततत्व वितरण गरेको छ । २० औं विश्व रक्तदाता दिवसको अवसरमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा २०८० जेठ २१ गतेदेखी २०८१ जेठ २० गतेसम्म केन्द्रले ५१ हजार २५१ पिन्ट रगत एवम् रक्ततत्व वितरण गरेको जानकारी दिईएको हो ।
पत्रकार सम्मेलनमा शाखाका सभापति परशुराम पाण्डेले २५ हजार ९४० पिन्ट रगत सकलन गरेको जानकारी दिनुभयो । संकलित रगतलाई विभिन्न कम्पोनेन्टमा विभाजन गरी ५१ हजार २५१ पिन्ट वितरण गरिएको उहाँले बताउनुभयो ।
उहाँले रगतको माग उच्च भएपनि संकलित रगतलाई व्यवस्थापन गरी सेवाग्राहीलाई खाली हात नफर्काएको दावी गर्नुभयो । ं “रगतको माग धेरै छ, भक्तपुरमा रगत अभावको बेलामा पनि तीन पिन्ट रगत लिन आउनेलाई एक पिन्ट मात्रै भनेपनि दिएर पठाएका छौँ । सेवाग्राही रित्तो हात फर्किनु परेको छैन,” उहाँले भन्नुभयो ।
भक्तपुरमा क्यान्सर अस्पताल र शहिद धर्मभक्त अंक प्रत्यारोपण केन्द्रका कारण पनि रगतको माग उच्च रहेको बताउँदैं उहाँले जति माग भएपनि नियमित, आकस्मिक रक्तदान कार्यक्रम र दातालाई सम्पर्क गरी केन्द्रमा बोलाएर भएपनि रगतको व्यवस्था गर्दै आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार भक्तपुरमा रक्तदान गर्ने मध्ये २२ प्रतिशत मात्र महिला रहेको छ । एक वर्षमा रक्तदान गर्ने २५ हजार ९४० मध्ये पाँच हजार ५५७ महिला रहेको र २० हजार ३ सय ८३ पुरुष छन ।


केन्द्रले दैनिक रुपमा भक्तपुर दुधपाटीस्थित सिद्धपोखरी, नेपाल रेडक्रस सोसाईटी महावौद्ध उपशाखा काठमाण्डौंको संयोजनमा जमल र भक्तपुरको सरस्वतीखेल बसपार्कमा दैनिक रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको पाण्डेले बताउनुभयो ।
यसैगरी केन्द्रले भक्तपुरका चार वटा पालिका चाँगुनारायण, मध्यपुर थिमि, भक्तपुर र सूर्यविनायक नगरपालिका, काठमाण्डौंको कागेश्वरी मनोहरा र चन्द्रागिरी नगरपालिका, रामेछापको गोकुलगंगा गाउँपालिकासँग सम्झौता गरी रगत तथा रक्ततत्व निःशुल्क वितरण गर्दै आइरहेको छ । केन्द्रले जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरसँग सम्झौता गरी बागमती प्रदेश अन्तर्गतका सुचिकृत अस्पतालहरु, विर अस्पतालका थालासेमिया, हेमोफिलिया तथा सिंगल सेल एनिमियाका बिरामी, भक्तपुर अस्पतालका प्रसुति सेवाका लागि पनि निःशुल्क रगत तथा रक्ततत्व वितरण गर्दै आइरहेको पाण्डेले बताउनुभयो ।
यसका साथै नेपाल रेडक्र सोसाईटी भक्तपुरको विपन्न तथा असाह्य रक्तदाता कोष र हालै एक जना दाताको सहयोगमा पनि विपन्न र असाह्य बिरामीलाई आवश्यक रगत तथा रक्ततत्व निःशुल्क प्रदान गर्दै आइरहेको उहाँले बताउनुभयो ।
केन्द्रले उपत्यका बाहिर पनि नेपाल रेडक्रस सोसाईटी दोलखा, रामेछाप र नुवाकोट शाखासँग पनि समन्वय गरी रगत संकलन गर्दै आइरहेको पाण्डेले बताउनुभयो ।
उहाँले उपचारका लागि बिरामीले लगेको रगत प्रयोग नभएपछि केन्द्रमा फर्काएर नल्याउने, ल्याए पनि ढिला ल्याउने, रगतका केही कम्पोनेन्ट धेरै दिनसम्म फ्रिजमा सुरक्षित राख्न नसकिने प्राविधिक समस्याका कारण संकलित रगत खेर जाने समस्या पनि रहेको जानकारी दिनुभयो ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सहमहामन्त्री मनोजकुमार थापाले नेपालमा अहिले शुन्य दशमलव ९२ प्रतिशत नागरिकबाट मात्रै रक्तदान हुने गरेको बताउँदै कूल जनसंख्याको २ प्रतिशत नागरिकले मात्रै रक्तदान गरिदिए नेपालमा रगतको अभाव कहिल्यै नहुने जिकिर गर्नुभयो ।
उहाँले रक्तदाताको संख्या बृद्धि गर्न रक्तदान सम्बन्धमा रेडक्रसले आवश्यक सचेतना, प्रचार प्रसारलगायतका कार्यक्रम गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँले विगतमा रगतको किनबेच हुने गरेकोमा रेडक्रसले रक्तसञ्चार केन्द्रले सञ्चालन गरेयता त्यसरी किनबेच हुने कार्य बन्द भएको बताउनुभयो ।
शाखाका संचार संयोजक तुलसी नारायण दण्डेख्याको सभापतित्वमा सम्पन्न कार्यक्रममा रेडक्रस भक्तपुरको रक्त सञ्चार सेवा केन्द्रका संयोजक एवम् चाँगुनारायण–२ का वडाध्यक्ष सोमप्रसाद प्रधानले स्थानीय बासिन्दाले नगरपालिकाले दिने निःशुल्क रगत तथा रक्ततत्व सेवाको बारेमा स्पष्ट पार्नुभएको थियो ।