भक्तपुर, जेठ १०
आज वैशाख शुक्ल पूर्णिमा । भगवान बुद्धको जन्म दिन । यसै अवसरमा शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती धुमधामले मनाईंदैछ । भगवान् बुद्धलाई विष्णुको दश अवतार मध्ये नवौँ अवतारका रुपमा पनि लिईन्छ ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।
यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
राजकुमारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्कएका थिए । सोही तपस्याका क्रममा उहाँले अहिँसा नै शान्तिको मूहान भएको ज्ञान प्राप्त गर्नुभयो र उक्त ज्ञानलाई संसारमा फैलाउनुभयो ।