काभ्रेको पाँचखालमा प्रदेश स्तरीय ३ दिने स्काउट क्याम्प हुने

भक्तपुर, जेठ ९
काभ्रेपलाञ्चोकको पाँचखालमा बागमती प्रदश स्तरीय ३ दिने स्काउट क्याम्प हुने भएको छ । पाँचखाल स्काउट नगर समितिको आयोजना र बागमती प्रदेश स्काउट कार्यालयको संयोजनमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको हो ।
पाँचखाल स्काउटका संयोजक नवराज बोलखेले आगामी विहिवार अर्थात जेठ १७ देखि १९ गते शनिवारसम्म ३ दिने स्काउट क्याम्प हुन लागेको जानकारी दिनुभयोे । क्याम्पमा बागमती प्रदेश भरीका स्काउटको सहभागिता रहनेछ ।
स्थानीय दुग्धेश्वर माविको प्राङ्गणमा केन्द्रीत रहेर गरिने क्याम्पमा बालबालिकाहरुलाई दैवीप्रकोपलगायत अन्य समयमा सुरक्षित बस्ने र उद्धार गर्नेलगायतका तालिम दिइने क्याम्प चिफ हर्षबहादुर दनुवारले बताउनुभयो ।
बागमती प्रदेश स्काउट प्रमुख शिवकुमार त्वायनाले क्याम्पबाट स्काउट बालबालिकाहरुको सर्वाङ्गिण र चौतर्फी विकासका साथ व्यवहारिक ज्ञान दिने बताउनुभयो ।
काठमाडौ, ललितपुर, भक्तपुर र काभ्रेपलान्चोक जिल्लाका रोभर, रेन्जर तथा सिनियर स्काउटहरुको प्राविधिक सहायतामा उक्त कार्यक्रम संचालन गरिने बताइएको छ । ।
क्याम्पले बालबालिकामा नेतृत्व, साहस, सीप, अनुशासन, समूहिक कार्य, स्वयमसेवा, बिपद ब्यवस्थापन जस्ता विविध पक्षको बिकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । क्याम्प अन्तर्गत साहसिक गतिबिधी, सुपरमेन जम्प, ओमेगा जम्प, कमान्डो ब्रिज, मङ्की क्लाम्विङ जस्ता विविध साहसिक गतिविधिहरु समाबेस गरिने बताइएको छ ।