जनताको कर दुरुपयोग हुने गरी कुनै काम हुँदैन – नगरप्रमुख श्रेष्ठ

भक्तपुर, चैत्र २९
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जनताको कर दुरुपयोग हुने गरी कुनै काम नहुने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल रेडक्रस सोसाईटी थिमि उपशाखाले बिहिवार आयोजित क्यालेण्डर विमोचन, प्रमाणपत्र वितरण र शुभकामना आदान प्रदान कार्यक्रममा नगरप्रमुख श्रेष्ठले सुशासनमा जोड दिएर नगरपालिका सञ्चालन गरिरहेको बताउँदैं जनताको कर दुरुपयोग नहुने स्पष्ट पार्नुभएको हो ।


उहाँले नगरपालिकाले कसरी खर्च गरिरहेको छ भनेर जान्ने बुझ्ने अधिकार जनतासँग रहेको बताउँदैं सूचनाको हकले पनि जनताले नगरपालिकाको गतिविधि सबै थाहा पाउने अधिकार रहेको जानकारी दिनुभयो ।
विगतमा जनताको कर दुरुपयोग गरी चाहिने भन्दा बढी प्रचार गरिएको बताउँदैं उहाँले भन्नुभयो, “विगतमा जनताको कर दुरुपयोग गरी काम भन्दा धेरै प्रचार गरेको पाईयो । जनताको कर सही सदुपयोग भइरहेको छ की छैन जनताले नगरपालिकामा आएर हेर्नुपर्छ ।”


विकास निर्माणका कार्य नियमित हुँदैं जाने बताउँदैं उहाँले भन्नुभयो, “गतवर्ष ८३ करोडको भौतिक पूर्वाधार विकासका काम भए । अहिले ६५ करोडको काम सम्झौता भएर कार्यान्वयन भइरहेको छ ।” उहाँले आर्थिक वर्षको अन्त्यसम्म चालु आर्थिक वर्ष विनियोजित सबै विकास निर्माणका योजना सञ्चालन भएर सम्पन्न हुने बताउनुभयो ।
उहाँले पूर्व जनप्रतिनिधिहरुले धैर्यता गुमाउन थालेको आरोप समेत लगाउनुभयो । उहाँले पूर्व जनप्रतिनिधिको नाताले सामाजिक गतिविधिमा सक्रिय हुनु राम्रो भएता पनि नगरपालिकाको विषयमा टिका टिप्पणी गर्दै हिँड्नु गलत भएको बताउनुभयो ।
“विकास सबैको पालामा भएकै छ । हिजो पनि भएको थियो, आज पनि भएको छ । भोली पनि हुँदैं जाला । तर कसरी भएका छन, त्यो प्रमुख विषय हो,” उहाँले भन्नुभयो, “हिजो आदेशको भरमा काम गर्ने, नीति नियम र प्रक्रिया अनुसार नगर्ने परिपाटी थियो । अहिले पारदर्शी ढंगले विधि र प्रक्रिया अनुसार भइरहेको छ ।”


उपप्रमुख विजयकृष्ण श्रेष्ठले राजनीति गर्नु भनेको शत्रु कमाउनु जस्तै भएको टिप्पणी गर्दै नगरपालिकालाई राम्रो बनाउँ, शिक्षा स्वास्थ्यमा जनताको सहज र सरल पहुँचमा बृद्धि गरौं भनेर केही गर्न खोज्दा अनेक आरोप लाग्ने गरेको गुनासो गर्नुभयो ।

नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले रेडक्रस विपदको बेलामा सबैलाई सहयोग गर्ने साथी भएको चर्चा गर्दै रेडक्रसकर्मीले सधैं निःस्वार्थ भावले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी थिमि उपशाखाको सभापति बाबुकाजी साँछें श्रेष्ठले रेडक्रसले बिस्का जात्रामा थिमिमा ५ स्थानमा प्राथमिक उपचार शिविर सञ्चालन गर्ने जानकारी दिनुभयो ।