नेपाल संवतको मोवाइल एप सरकारलाई हस्तान्तरण

भक्तपुर, चैत्र १२
मध्यपुर थिमिस्थित राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानको संयोजन र स्पाइरालोजिक्स इन्टरनेशनलले तयार पारेको नेपाल सम्वत्को ‘तिथिमिति डट कम’ नामको सफ्टवेयर र ‘नेपाल सम्वत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज (सोमवार) आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, स्पाइरालोजिक्स इन्टरनेशनलका मुख्य इञ्जिनियर अरुण थापाले उक्त सफ्टवेयर र एप हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल सम्वत्को गणना अलिक जटिल ठानिएकोमा अब सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल सम्वत्लाई कार्यान्वयन गर्न यसलाई अझै व्यवस्थित गर्नुपर्नेछ, अब यो एप कार्यान्वयनमा जान्छ ।”
सो सफ्टवेयर सञ्चालनमा आएसँगै विश्वको जुनसुकै स्थानबाट एकसाथ नेपाल सम्वत्, विक्रम सम्वत् र इस्वी सम्वत् प्रयोग गर्न सकिनेछ । यसलाई ल्यापटप र डेस्कटपमा पनि डाउनलोड गरेर अफलाइनमा पनि प्रयोग गर्न सकिने प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यो सफ्टवेयरबाट नेपाल सम्वत्सँगै विक्रम सम्वत् र इस्वी सम्वत्को सयौँ वर्ष अगाडि र पछाडि गएर बार, गते, वर्ष एवम् तिथि हेर्न सकिने छ ।
सरकारले नेपाल सम्वत्लाई अनिवार्य रुपमा सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय लागू गरिसकेको अवस्थामा उक्त एप तथा सफ्टवेयरले कामकाजमा सहयोग हुने विश्वास लिइएको छ ।
हस्तान्तरण कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, प्रतिष्ठानका पुर्वअध्यक्ष श्यामकृष्ण मानन्धरलगायतको उपस्थिती रहेको थियो ।