महाशिवरात्रीका अवसरमा डोलेश्वरका चारै ढोका खुल्ला

भक्तपुर, फागुन २५
महाशिवरात्रीको अवसरमा आज (शुक्रवार) पछिल्लो समय शिवमार्गीहरुको प्रमुख गन्तव्यको रुपमा विकास भएको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको चारै ढोका बिहान ४ बजेदेखी खुल्ला गरिएको छ । भक्तजनले डोलेश्वरको प्रमुख शिला छोएर पुजा गर्ने व्यवस्था गरिएको छ ।
डोलेश्वरमा महाशिवरात्री, अक्षय तृतिया र डोलेश्वरलाई केदारनाथको शिर घोषणा गरेको दिनको चारै ढोका खुल्ला गर्नुका साथै प्रमुख शिला छोएर पुजा गर्ने व्यवस्था रहेको छ ।
मन्दिरमा मध्यराति विशेष पूजा गरेपछि बिहान ४ बजेदेखि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथ विकास समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो ।
यसवर्ष डोलेश्वरमा महाशिवरात्रीका लागि भारत र विभिन्न स्थानबाट २५० भन्दा बढी साधुसन्त आएको समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले महाशिवरात्री पर्वमा डोलेश्वर आएका साधुसन्तका लागि खाने, बस्न र धुनी जगाउने व्यवस्था मिलाएको छ । त्यसका अलवा साधुसन्त घर फर्कने बेलामा प्रत्येक साधुसन्तलाई एक थान कम्बल र यातायात खर्च वापत सात सय ५० रुपैया समेत प्रदान गरेर बिदाई गरिने छ । यसवर्ष डोलेश्वरमा ५० हजार भन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
यसैगरी समितिले दर्शनका लागि डोलेश्वर आउने सम्पूर्ण भक्तजनलाई निःशुल्क भोजन एवं प्रसादको व्यवस्था गरेको छ । त्यसका अलवा धुनि जगाउन दाउराको व्यवस्थासमेत मिलाइएको छ । दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै भक्तपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालले मन्दिर क्षेत्रमै स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
यसैबीच महाशिवरात्रीको अवसरमा भक्तपुरका प्रमुख शिवालयहरुमा भक्तजनको घुईंचो लागेको छ । महाशिवरात्रीमा भगवान शिवको विशेष पुजा आराधना गर्ने पर्व भएकाले भक्तपुरका प्रमुख शिवालयहरु सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेवसँगै आशापुरी महादेव, यातु महादेव, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, चित्तापोलस्थित कैलाशकुट महादेव, चाँगुको झौखेलस्थित ज्योर्तिलिङ्गेश्वर, सुडालको कल्पेश्वर र भक्तपुर नगरस्थित दत्तात्रयमन्दिरका साथै विभिन्न शिवालयहरुमा भक्तजनको घुईंचो लागेको हो ।