प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित गर्दै कांग्रेस महासमिति बैठक सम्पन्न

भक्तपुर, फागुन ९
ललितपुरको गोदावरीमा सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकले प्राप्त सुझावहरुका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जन सहित अन्तिम रुप दिने गरी तीन वटा प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
बैठकले उपसभापति पूर्ण वहादुर खड्काले प्रस्तुत गर्नुभएको नीति प्रस्ताव, महामन्त्री गगन कुमार थापाले प्रस्तुत गर्नु भएको सांगठानिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको समसामयीक राजनीतिक प्रस्तावलाई बैठकको सुझावहरुका आधारमा केन्द्रीय समितिले अन्तिम रुप दिने गरी सर्वसम्मत पारित गरेको हो ।
यसैगरी बैठकले कांग्रेसका प्रवक्ता एवं अर्थ मन्त्री डा. प्रकाशसरण महतले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सुझाव सहित ग्रहण गर्नुका साथै लेखा समितिका संयोजक श्याम प्रसाद घिमिरेले प्रस्तुत गर्नुभएको लेखा परिक्षण प्रतिवेदन अनुमोदन गरेको महासमिति बैठक प्रचार प्रसार उपसमितिका संयोजक मीन बहादुर विश्वकर्माले बताउनुभयो ।
उहाँले उपसभापति खड्का, महामन्त्रीद्धय थापा र शर्माको प्रस्तावले नेपाली कांग्रेसको नीति, सांगठानिक कार्ययोजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्टिकोण निर्माण गरेको बताउनुभयो ।
‘राजनीतिक स्थायीत्व, रुपान्तरण नविनता । स्वतन्त्रता, न्याय र समानता ।। नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता ।।।’ उद्धघोषका साथ प्रारम्भ भई उत्साहकासाथ सम्पन्न बैठकबाट हासिल नविन उर्जालाई सम्पूर्ण एकताका साथ संगठन निर्माण र बिस्तारमा जुट्दै नेपाल र नेपालीको उज्यालो भविष्यका लागि समर्पित हुने साझा प्रतिवद्धताका साथ ऐतिहासिक महासमितिको बैठक सम्पन्न भएको विश्वकर्माले बताउनुभयो ।
नेपाली कांग्रेसको महत्वपूर्ण उपस्थिीति सहित निर्माण भएको गठवन्धनलाई निरन्तरता दिई वर्तमान सरकार मार्फत भ्रष्ट्राचार, वेथिती र विसंगतिका विरुद्ध वैधानिकरुपमै अभियान संचालन गरि सुशासन र राष्ट्रिय सदाचार पद्धती स्थापित गर्न सम्पूर्ण रुपले कृतसंकल्पित रहने अठोट बैठकले गरेको छ ।


यसैगरी अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतिहरुलाई समाधान गर्ने जिम्मेवारी बोध गर्दै, मुलूकमा विद्यमान सवैखाले सामाजिक एवं जातीय क्षेत्रीय तथा लैङ्गिक विभेद र हिंसा विरुद्ध कार्यक्रमिक अभियान संचालन गर्ने प्रतिवद्धता कांग्रेस महासमिति बैठकले गरेको छ ।
तीनै तहका सरकार संचालनमा देखिएका समस्याहरुलाई समाधानका लागि नेतृत्वदायी भूमिका प्रति सचेत रहदै, किसान, सहकारी वचतकर्ता, मीटरव्याज र लघुबित्त पिडितहरुले भोग्दै आएका पिडालाई अभिलम्व समाधान गरि पिडितलाई न्याय दिलाउँन सरकारको गंभिर ध्यानाकर्षण बैठकले गरेको विश्वकर्माले बताउनुभयो ।
कांग्रेसले नेपालको संविधानको रक्षा, संघीय समावेसी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयन आजको राष्ट्रिय दायित्व भएको तथ्य हृदयङ्गमसाथ नागरिकको अवस्था रुपान्तरण गर्ने प्रण गर्दै शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकालिन न्यायका विषय चाँडै टुङ्याउँने प्रतिवद्धता जाहेर गरेको छ ।
नेपाली जनताले गरेको पटक पटकको क्रान्ति, संर्घष र आन्दोलनवाट प्राप्त उपलव्धीहरुको रक्षा गर्दै संस्थागत विकास एवं संविधानले निर्दिष्ठ गरेका विषयलाई आत्मसाथ गरि, नेपालको संविधानको रक्षा, संघीय समावेसी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयन आजको राष्ट्रिय दायित्व भएको तथ्य हृदयङ्गमसाथ नागरिकको अवस्था रुपान्तरण गर्ने प्रण कांग्रेस महासमिति बैठकले गरेको छ ।