कांग्रेस महासमिति बैठकमा उठ्यो मिडियाको मुद्दा

गोदावरी, ललितपुर, फागुन ९
नेपाली कांग्रेसको जारी महासमिति बैठकको बन्द सत्रमा बोल्दै महासमिति सदस्यहरुले मिडियाका मुद्दाहरु पनि उठाएका छन् । महासमिति बैठकमा शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको प्रतिनिधित्व गर्दै महासिमिति सदस्य सरोज अधिकारीले मिडियाका मुद्दा उठाउनु भएको हो ।
उहाँले प्रेस स्वतन्त्रतामाथिको हमाल नै लोकतन्त्रमाथिको हमाल भएको उल्लेख गर्दै मिडियालाई मजबुत बनाउनका लागि लोकतन्त्रको हिमायती पार्टी नेपाली कांग्रेसले विशेष पहल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय मिडियामाथि आक्रमण गरेर लोकतन्त्रलाई कमजोर बनाउने काम भइरहेको छ । यसतर्फ नेपाली कांग्रेसको ध्यानाकर्षण होस् ।”
उहाँले शुभेच्छुक संस्थालाई पार्टीले मतदानका लागि मात्रै उपयोग गर्न खोजेको उल्लेख गर्दै अधिकार पनि दिनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “भूगोलबाट आउने र शुभेच्छुक संस्थाबाट आउने सबैको योगदान उत्तिकै भएकोले अधिकार पनि दिनुपर्दछ ।”
त्यसैगरी जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्दै महासमिति सदस्य सीता सापकोटाले विदेशमा रहेका नेपालीहरुलाई पनि यही देशमा राजनीति अधिकार दिनुपर्ने बताउनुभएको छ । त्यसैगरी महासमिति सदस्य चिन्तामणि सापकोटाले पनि गैर–आवासीय नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ ।
महासमिति सदस्य धनञ्जय रेग्मीले गठबन्धन २०४६ सालदेखि चलिरहेको उल्लेख गर्दै गठबन्धन नगरे संगठन बलियो नहुन सक्ने तर्क गर्नुभयो । महासमिति सदस्य शेखर खड्का र विष्णु पोखरेलले महामन्त्रीहरुको प्रस्तावमा समर्थन जनाउँदै उक्त प्रतिवेदनहरु कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । महासमिति सदस्य विमल सुवेदीले महासमितिमा पेश भएका प्रस्तावहरुलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
महासमिति सदस्य उमा थापा मगरले महिलालाई ३३ प्रतिशतले मात्र नहुने बताउनुभयो । महासमिति सदस्य बिमला गैरेले प्रतिवेदन सुन्दा सुन्दर लागे पनि यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।