बसुन्धारास्थित धौवलागिरी हिमाल पोलिक्लिनिकबाट नक्कली डाक्टर पक्राउ

भक्तपुर, माघ ८
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जना नक्कली डाक्टरलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर उपमहानगर–२ घर भई हाल काठमाण्डौं–३ महाराजगञ्ज बस्ने आफुलाई डा. एस भट्ट आचार्य बताउने ४० वर्षिय सम्बुद्ध भट्टाचार्य छन् ।
प्रहरीले उनलाई काठमाण्डौंको बसुन्धारास्थित धौवलागिरी हिमाल पोलिक्लिनिकबाट आइतवार साँझ पक्राउ गरेको । उनले इन्डोग्रिनोलोजी कन्सल्टेन्टको रूपमा काम गर्ने गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । आफूलाई डाक्टर बताउने गरेका भट्टाचार्यले उक्त क्लिनिकसँगै नक्सालमा रहेको वी केयर पोलिक्लिनिकमा समेत काम गर्ने गरेको पाईएको एसपी रेग्मीले बताउनुभयो ।
भट्टाचार्यले वी केयरमा ९ महिना काम गरी करिब ६३० बिरामीको उपचार समेत गराएको पाइएको एसपी रेग्मीले बताउनुभयो । अनुसन्धानका क्रममा उनले क्लिनिकमा उपचार गराए बापत बिरामीसँग ७५० रुपैयाँ लिने गरेको समेत खुल्न आएको छ । धवलागिरीमा ४० जनाभन्दा बढीको उपचार गराएको खुलेको छ । त्यहाँबाट प्रति बिरामी उनले ५०० रुपैयाँ लिने गरेका थिए ।
भट्टाचार्यले आफूले चीनबाट एमबिबिएस पढेको दाबी गरेका छन् । तर प्रहरीका अनुसार त्यसबारेमा भट्टाचार्यले कुनै प्रमाण पेश गर्न सकेका छैन । भट्टाचार्यले प्रयोग गरेको नेपाल चिकित्सक संघ (एनएमसी) को नम्बर पनि अर्कै व्यक्तिको भएको प्रहरीले जनाएको छ ।
“नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरी बुझ्दा भट्टाचार्यले प्रयोग गरेको एनओसी नं. उल्लेखित प्रमाण पत्र काउन्सिलबाट जारी नभएको पाईयो,” एसपी रेग्मीले भन्नुभयो ।
विगत ३ वर्षदेखी काठमाण्डौ उपत्यकाको विभिन्न पोलिक्लिनिकहरुमा आफुले चाइनाबाट एमबिबिएस गरी टिचिङ अस्पतालमा समेत काम गरेको बताई विभिन्न व्यक्तिहरुको एनओसी नं. प्रयोग गरी पोलिक्लिनिकहरुलाई भ्रममा पारी बिरामीहरुको उपचार गरीरहेको छ भन्ने विशेष सूचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष प्रहरी टोलीले भट्टाचार्यलाई पक्राउ गरिएको एसपी रेग्मीले बताउनुभयो ।
प्रहरीले उनीबाट विभिन्न प्रमाणपत्र, नेपाल चिकित्सक संघ र टिचिङ अस्पतालको कार्ड र अन्य कार्डहरू पनि बरामद गरेको छ । ती कार्ड र कागजातहरू सबै नक्कली नै भएको प्रहरीले दाबी गरेको छ । त्यसैगरी उनले विदेश जानेहरूको मेडिकल रिपोर्ट बनाउने गरेको पनि प्रहरीले जनाएको छ ।
नक्कली डाक्टरले बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्न सक्ने भएकाले प्रहरीले उनीविरूद्ध इलाजसम्बन्धी कसुर र नक्कली कागजात खडा गरेको भन्दै लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । उनलाई थप कारवाही र अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको एसपी रेग्मीले बताउनुभयो ।