भारोत्तोलनमा जुनुमाया र विद्याको राष्ट्रिय कीर्तिमान, कृष्णकला र प्रकाश उत्कृष्ट

भक्तपुर, पुस २७
नेपाल पुलिस क्लवका जुनुमाया छन्त्याल र विद्या राईले नेपाल भारोत्तोलन संघद्वारा आयोजित २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपको अन्तिम दिन बिहिवार राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
मध्यपुर थिमिको थिमि बैंक्वेटमा सम्पन्न प्रतियोगितामा जुनुमायाले महिला सिनियर ७१ केजी तौल समूहको क्लिन एण्ड जर्कमा ९३ केजी भार वहन गर्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन । जुनुमायाले स्न्याचमा ७३ केजी गरी जम्मा १६६ केजी भार वहन गर्दै स्वर्ण जिते ।


विद्याले महिला सिनियर ८७ केजी माथि क्लिन एण्ड जर्कमा ९२ केजी भार उठाई राष्ट्रिय कीर्तिमान बनाएका हुन । यसअघि उनकै नाममा ९१ केजीको राष्ट्रिय कीर्तिमान रहेको थियो । विद्याले स्न्याचमा ६५ केजी गरी कुल १ सय ५७ केजी तौल उठाउँदै स्वर्ण पदक जितिन् ।
प्रतियोगिताको सिनियर महिला ८७ केजीमुनि प्रहरीकी जयन्ती श्रेष्ठ, ७६ केजीमा प्रहरीकी पूजा कुमाल र ८१ केजीमुनि प्रहरीकै तारादेवी पुन पहिलो भइन् ।


युथको महिला ७१ केजीमा ललितपुरकी खुशी चौधरी तथा ८१ केजीमुनि कास्कीकी सिन्जल गुरुङले पहिलो स्थान हात पारे ।
सिनियर पुरुषको १०२ केजीमा सन्देश गुरुङ, १०९ केजीमुनि विशालसिंह विष्ट र १०९ केजीमाथि राजीव महर्जनले शीर्ष स्थान हासिल गरे । स्वर्ण विजेता तीनै प्रहरी खेलाडी हुन् । जुनियर पुरुषको १०२ केजीमा एपिएफका सञ्जय यादव तथा १०९ केजीमुनि एपीएफकै रोजन तुलाधर पहिलो भए ।
प्रतियोगिताको पुरुषमा प्रहरीका प्रकाश केसी तथा महिलामा कीर्तिमानधारी कृष्णकला उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतले पुरस्कृत गरे ।
तीनदिने प्रतियोगितामा एक सय ६४ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए ।