कविदासको अध्यक्षतामा भक्तपुर चेम्बरको नयाँ नेतृत्व चयन

भक्तपुर, मंसिर १७
कविदास श्रेष्ठको अध्यक्षतामा भक्तपुर चेम्बर अफ कमर्शको नयाँ नेतृत्व चयन भएको छ । चेम्बरको आइतवार सम्पन्न छैंटौं साधारणसभा र तथा तेस्रो अधिवेशनले कविदासको अध्यक्षतामा दुई वर्षको लागि नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनले चेम्बरको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । चेम्बरको विधान अनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ । सोही अनुसार कविदास अध्यक्ष हुनुभएको हो भने वरिष्ठ उपाध्यक्षमा शिक्षासेवी सुरेन्द्र तुबन्जा सर्वसम्मत चयन हुनुभएको हो ।


त्यसैगरी चेम्बर्सको उपाध्यक्षहरुमा एसोसियट्सतर्फ जगत बहादुर श्रेष्ठ, भक्तपुर नगर चेम्बरतर्फ राधे सुन्दर साँयजू, सूर्यविनायक नगरतर्फ माधव प्रसाद प्रजापति, चाँगुनारायण नगरतर्फ गोकुल प्रसाद प्रजापति र मध्यपुर थिमि नगरतर्फ चन्द्रभक्त श्रेष्ठ चयन भएको छ ।
अधिवेशनले ज्ञानेन्द्र मानन्धर महासचिव, सुरेन्द्र जाकिबन्जा कोषाध्यक्ष र सदस्यहरुमा न्हुछेराम धुख्वा, विजय हाछेंथु, अष्ट बज्र बज्राचार्य, पशुपति भुसाल, विक्रम प्रजापति, जीवन मारिखु, नानीबाबु थापा, कुलदिप जिसी, मानार्थ सदस्यमा दिपक कृष्ण प्रजापति र मनोनित सदस्यमा युवा चेम्बरका अध्यक्ष प्रश्रित भोयद्यो चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता गजेन्द्र शंकर तिमिलाले जानकारी दिनुभयो ।


यसअघि चेम्बरको अधिवेशन उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक मन्दीका कारण व्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाको व्याज तिर्न नसकेको अवस्थामा सरकारले तत्काल उचित नीतिगत व्यवस्था गरी राहत दिनुपर्ने माग गर्नुभयो । उहाँले देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन मूख्य भूमिका रहेका व्यवसायीहरुलाई अहिले बैंक तथा वित्तिय संस्थाहरुले चर्को व्याजदरको मारमा परेको र दिनहुँ फोन गरेर मानसिक तनाव दिन थालेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले भक्तपुरको परम्परागत उत्पादनको संरक्षण र प्रवद्र्धनमा यहाँका व्यवसायीहरुको ठूलो योगदान रहेको चर्चा गर्दै यहाँको हस्तकला, परम्परागत पोशाक हाकु पटासी, भाँदगाउँले टोपी, जुजु धौ विश्व प्रसिद्ध रहेको बताउनुभयो ।


नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवम् भक्तपुर चेम्बरका सल्लाहकार रोशन भोयद्योले स्थापनाको छोटो समयमा भक्तपु चेम्बरले उत्कृष्ट कार्य गरेर आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताउनुभयो ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरले बैंक तथा वित्तिय संस्थामा मात्र नाफामा जाने र व्यवसायीहरु भने आत्महत्या गर्न बाध्य हुने परिस्थितीको अन्त्यका लागि उद्योग वाणिज्य महासंघले सरकारसँग माग गरिरहेको बताउनुभयो ।
भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाले व्यवसायीहरुको एकता आवश्यक भएको बताउँदैं व्यवसायीका समस्या समाधानका लागि व्यवसायीहरु एकजुट भएर प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।


भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुँछेरत्न मानन्धरले आफ्नो पाँच वर्षे कार्यकालमा गरेका कार्यको चर्चा गर्दै भक्तपुर चेम्बरलाई देशभरीका चेम्बर मध्ये उत्कृष्ट चेम्बर बनाउन सफल भएको बताउनुभयो । उहाँले कोभिड १९ को महामारी र लकडाउनमा चेम्बरले आम नागरिकको स्वास्थ्य र कोभिड संक्रमणबाट बचाउन गरेका कार्यको जानकारी दिँदैं त्यसका लागि सबैको साथ र सहयोगका लागि धन्यवाद दिनुभयो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कविदास श्रेष्ठ, सुरेन्द्र तुबन्जा श्रेष्ठ, विजय हाछेंथुलगायतले चेम्बरले व्यवसायीका समस्याको चर्चा गर्दै समाधानका लागि सरकारसँग आग्रह गर्नुभयो ।
सो अवसरमा चेम्बरद्धारा प्रकाशित स्मारिकाको विमोचन गरिएको थियो । साथै चेम्बरको संस्थागत विकासमा सहयोग गर्नुहुने व्यवसायीहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो ।