भक्तपुरमा बन्दैछ तिहारको लागि पाला

लक्ष्मी गारु, भक्तपुर, कार्तिक २१
नेपालीहरुको दोस्रो ठूलो पर्व हो तिहार । तिहारको प्रमुख विशेषता मध्ये एक हो दिपावली अर्थात झिलिमिली बत्ति बाल्ने । पछिल्ला केही दशक यता विद्युतीय बत्तिको प्रयोग बढेपनि माटोको दियो बाल्ने परम्परागत प्रचलन पनि उत्तिकै प्रयोगमा छ । त्यसैले तिहार जति नजिक आउँदैछ, बजारमा पालाको माग पनि उत्तिकै बढ्दो छ ।
पालाको माग बढेसँगै भक्तपुरका कुम्हाले समूदायलाई यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याईनभ्याई भएको छ । तिहारको पालाको माग धान्न भक्तपुरका विभिन्न स्थानमा धमाधम पाला बनाईंदैछ । कुम्हाले समूदाय माटाका अन्य भाँडा बनाउन छाडेर अहिले पाला बनाउन व्यस्त छन ।
“तिहारमा अरु भाँडा त्यति बिक्रि पनि हुँदैन । त्यसैले अहिले अन्य भाँडा बनाउन छाडेर पाला बनाउँदैं आएका छौं,” भक्तपुर पोटरी स्क्वायरमा पाला सुकाउन व्यस्त पञ्चमाया प्रजापतिले भन्नुभयो, “चाडपर्व अनुसार पनि भाँडा बनाउनुपर्छ । दशैंमा धुपौरो, कुलिँचाको माग बढेजस्तै तिहारमा पालाको माग बढी आउँछ ।”


तिहारमा लक्ष्मी पुजाका लागि बाहिरी जिल्लाहरुबाट समेत पालाको माग आउने भएकाले गमला, धुपरौ, खुत्रुके लगायत विभिन्न पर्यटकीय सामग्री बनाउने कामलाई थाँती राखेर पाला बनाउने काममा व्यस्त भएको पञ्चमायाले बताउनुभयो ।
“बिहान सबेरै उठेर चियासँगै अघिल्लो दिन मै तयार गरी राखेको माटोलाई थप तयार गरी पाला बनाउने, सुकाउने र सुकिसकेको पालालाई पालोमा राखेर भट्टीमा पोल्ने र माग अनुसार बजार पठाउने काममा नै व्यस्त छौं । अहिले अन्य भाँडाकुँडा बनाउन फुर्सद छैन,” उहाँले भन्नुभयो ।
पाला बनाउन माटोलाई आवश्यकता अनुसार मेसिनले मुछेर तयार गरिन्छ । अचेल प्रविधिले माटोको भाँडा बनाउने पेशा पनि सहज बन्दै गएको छ । मेसिनले नै तयार गरेको माटोलाई विद्युतीय चक्रमा राखेर काँचो पाला तयार गरिन्छ । यसरी बनाएको पालालाई घाममा सुकाईन्छ । सुकेर तयार भएको पालालाई आधुनिक भट्टीमा पोलेपछि पाला पूर्णरुपमा तयार हुन्छ र माग अनुसार बजारमा आपुर्ती गरिन्छ ।


अचेल भक्तपुरका पोटरी स्क्वायर (तालक्व)का कुम्हालेहरु मात्र होइन सुर्यमढी, लिवाली, तुमुचो, च्याम्हासिहंलगायतमा माटोका भाँडा बनाउने पेशामा संलग्न कुम्हालेहरु अन्य भाँडा बनाउने कार्यलाई थाँती राख्दै पाला बनाउने कार्यमा तल्लिन छन् ।
विशेषगरी धनकी देवी लक्ष्मीको पुजा गर्ने पर्व भएकाले तिहारमा फलफुल, सयपत्री फुलसँगै झिलीमिलि बत्ति बाल्ने गरिन्छ । धनकी देवी लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा झिलीमिली बत्ती बाल्ने परम्परा रहेको छ । तिहारको लक्ष्मी पुजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा पालाको दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ ।
पछिल्लो समय तिहारमा बत्ति बाल्नकै लागि विद्युतीय बत्तीको प्रयोग समेत उच्च हुने गरेको छ । तिहारमा बिजुलीका रंगीचंगी बत्ती बालेर झिलीमिली पार्ने गरेपनि अनिर्वाय रुपमा दियो पनि बाल्नु पर्ने परम्परा भएकाले तिहारमा वर्षेनी पालाको माग बढ्ने गरेको व्यवसायीहरु बताउँछन ।
केही वर्ष अघि मैनबत्ती बाल्ने प्रचलन पनि देखिएको थियो तर दियो जस्तो सुरक्षित नभएपछि मैनबत्ती बिस्तारै विस्थापित हुँदै गयो । त्यसले पनि पालाको माग वर्षेनी बढ्दो रहेको कुम्हालेहरु बताउँछन ।


“विभिन्न आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको दाँजोमा सुरक्षित र धार्मिक तथा साँस्कृतिक दृष्टिकोणले पालालाई अत्यन्तै उत्तम र पवित्र मानिने भएकाले बजारमा यसको माग बढेको हो,” पञ्चमायाले भन्नुभयो ।
कुम्हालेहरुले तयार भएको पाला थोक व्यापारीहरुलाई बिक्रि गरिन्छ । थोक व्यापारीहरुले एउटा पालाको एकदेखी दुई रुपैंयाँमा हजारौंको संख्यामा खरिद गर्ने र उनीहरुले केही मुनाफा खाएर काठमाण्डौं उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्ताहरु माझ पु¥याउने गरेको छ ।
भक्तपुरमा उत्पादन गरेको पाला उपत्यका लगायत काभ्रेको बनेपा, धुलिखेल, पनौती, धादिङ, नुवाकोट, पोखरा, चितवन, हेटौंडा, त्रिशुलीलगायतका बजारमा बिक्रि हुन्छ ।