छात्रवृत्ति दिन आनाकानी गर्ने विद्यालयलाई कारवाही गर्ने मध्यपुर थिमि नगरपालिकाको चेतावनी

भक्तपुर, असोज २१
मध्यपुर थिमि नगरपालिकाले छात्रवृत्ति दिन आनाकानी गर्ने संस्थागत विद्यालयहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । नगर शिक्षा समितिले छात्रवृत्तिका लागि पठाएका निर्णयहरु कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँदैं कार्यान्वयन नगरे कारवाही गर्ने चेतावनी दिएको हो ।
पछिल्लो समय नगर शिक्षा समितिले निर्णय गरी कार्यान्वयनका लागि सबै विद्यालयमा पठाएको छात्रवृत्ति सम्बन्धी निर्णय कार्यान्वयन गर्न केही विद्यालयले आनाकानी गरेको भन्ने जनगुनासो आएको जनाउँदैं यथाशिघ्र उक्त निर्णय कार्यान्वयन गर्न गराउन सबै विद्यालयलाई सूचित गरेको शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।
उहाँले सबै विद्यालयलाई पत्र पठाई निर्णय कार्यान्वयनका लागि ध्यानाकर्षण गरिएको बताउनुभयो । उहाँले केही विद्यालयहरुले शिक्षा समितिको निर्णयको आफुखुसी व्याख्या समेत गरेको जनगुनासो आएकोले सबै विद्यालयलाई पत्र पठाई सचेत गरिएको बताउनुभयो ।
समितिले पठाएको पत्रमा, पछिल्लो समय नगर शिक्षा समितिले निर्णय गरेर विद्यालयमा कार्यान्वयनका लागि पठाइएका निर्णयहरु कार्यान्वयन नभएको र कार्यान्वयनमा आलटाल गरिरहेको र विभिन्न बहाना बनाई आफु अनुकुल व्याख्या गरी अभिभावकहरुमा दवाब सिर्जना गरेको भन्ने जनगुनासो नगरपालिकामा आइरहेको उल्लेख छ ।
यस्तै नगर शिक्षा समितिले निर्णय गरेको र कार्यान्वयनका लागि पत्राचार भएका निर्णयहरु यथाशिघ्र कार्यान्वयन गर्न सूचित गर्दै कार्यान्वयनमा ढिलाई गरेको वा अटेरी गरेको वा अभिभावक माथि अनावश्यक दवाब सिर्जना गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाईने उल्लेख गरिएको छ ।