छोरीको घरको सहयोगार्थ ताथलीमा विराट पितृ मुक्ति ज्ञान महायज्ञ हुने

जगत प्रजापति, भक्तपुर, असोज ५
भक्तपुरको ताथलीमा स्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको सहयोगार्थ श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० हुने भएको छ । महायज्ञ यही असोज ११ गतेदेखी २७ गतेसम्म १७ दिन सञ्चालन हुने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
‘छोरीको घर आश्रम’ बेसहारा, पिडित, दुःखी, गरीव र आधारभुत आवश्यकताबाट वञ्चित ज्येष्ठ नागरिकहरुलाई निःशुल्क गास, बास, कपास र स्वास्थ्य सेवा प्रदान गर्न स्थापना गरिएको संस्था हो । चाँगुनारायण नगरपालिका–९ ताथलीमा अवस्थित करिव ५० आना क्षेत्रफलमा फैलिएको यो आश्रममा ३० जनालाई आश्रय दिने क्षमता रहेकोमा हाल ६ जना आश्रित रहेको छ ।
महायज्ञबाट संकलन भएको रकमले आश्रमको नाममा ५० आना जग्गा खरिद गरी सो जग्गामा कम्तिमा एक सय जना ज्येष्ठ नागरिकलाई आश्रय दिन सकिने गरी आवश्यक भवन र पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको आश्रम सञ्चालक समितिका अध्यक्ष वालयोगेश्वर श्री विजय मुर्ती महाराजले बताउनुभयो । उहाँले आश्रमलाई व्यवस्थित र स्थायीरुपमा सञ्चालन गर्नका लागि ताथलीमा नै ५० आना जग्गा खरिदको लागि प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।
आश्रमलाई आश्रयस्थलको रुपमा मात्र नभई बृहत आध्यात्मिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, धर्मशाला, सत्सङ्ग भवन, पुस्तकालय, सन्त निवास, ज्येष्ठ नागरिक दिवा तथा रात्री सेवा केन्द्र, प्रवचन हल, गौशाला, अन्न क्षेत्र, निःशुल्क एम्बुलेन्स सञ्चालन र अलोकिक दिव्य राधाकृष्ण तथा पञ्चायन मन्दिर निर्माणको गुरुयोजना रहेको उहाँले बताउनुभयो ।


यसको लागि करिव ५ करोड रुपैंया लाग्ने अनुमान गरिएको र महायज्ञबाट दुई करोड ५० लाख संकलन हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । महायज्ञमा ५० लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ ।
महायज्ञको पहिलो दिन आश्विन ११ गते १००८ शान्ति कलश यात्रा हुने, महायज्ञका अवसरमा ५ सय भन्दा बढी बाल कन्याहरुको पुजन गरिने, सयौ जनाको सामूहिक तुलादान, १०८ गौमाताको दुध जम्मा गरी पञ्चामृत तयार गरी वितरण गर्ने, एक हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, चारवेद, पुराण पाठ पारायण सहित सम्पूर्ण अध्यात्मिक गतिविधि हुनेछ ।
यसैगरी प्रत्येक दिन राष्ट्रिय स्तरका राजनेता र कलाकारहरुको उपस्थिती, रात्रीको समयमा रामलीला, कृष्णलीला, भरत नात्यम् नृत्य, धर्म संस्कृति र पहिचान झल्कने साँसकृतिक कार्यक्रम, देश विदेशका ख्याती प्राप्त सन्त, महात्मा, धर्मगुरुहरुको उपस्थिती र प्रवचन प्रस्तुत गरिनेछ ।


महायज्ञमा दैनिक ५ हजार भक्तजनको आगमन हुने र महायञ अवधीभर ५ लाख भक्तजनको आगमन हुने अपेक्षा गरिएको छ । महायज्ञमा आउने भक्तजनको सहजताको लागि भक्तपुरको च्याम्हसिंहबाट काभ्रेको नालासम्म निःशुल्क बस सेवा सञ्चालन हुनेछ ।
महायज्ञको प्रचार प्रसारको लागि ५० हजार निमन्त्रणा कार्ड वितरण गरिएको जानकारी दिँदैं उहाँले महायज्ञमा संकलन भएको रकमले तत्काल जग्गा खरिद गर्न निर्माण समिति गठन गरी रकम हस्तान्तरण गरिने वालयोगेश्वरले बताउनुभयो ।
महायज्ञ सफल बनाउन वालयोगेश्वरको अध्यक्षतामा १०८ सदस्यीय मूल आयोजक समिति र स्थानीय समाजसेवी केशरबहादुर खड्काको संयोकत्वमा १००८ सदस्यीय मूल आयोजक समारोह समिति गठन गरी विभिन्न ६० वटा उपसमिति समेत गठन गरी कार्य भइरहेको छ । यस्तै महायज्ञको निर्देशकमा सुभाष ढुंगाना, सचिवमा सुशिल ढुंगाना रहनुभएको छ ।