भक्तपुर, भदौ २३
भक्तपुरको सूर्यविनायक नगरपालिका–८, आदर्शचोकस्थित भक्तपुर फ्युल सेन्टर अगाडि शुक्रवार राती भएको सवारी दुर्घटनामा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने दुई जना घाईते भएका छन ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ घिमिरेगाऊँ बस्ने २५ वर्षिया नविना काफ्ले घिमिरे छन । उनको शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको छ । घटनामा बनेपा घिमिरे गाँऊका ३० वर्षिय किरण घिमिरे र सुनकोसी गाउँपालिका–४ घर भई हाल भक्तपुर नलिनचोक बस्ने ३२ वर्षिय प्रहरी जवान हिरा बडाल घाईते भएका छन ।
किरणको दाहिने हातको पञ्जामा र दाहिने खुट्टाको तिघ्रा र पिडौलामा भित्री चोट लागेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताउनुभयो । त्यस्तै बडालको दुवै हातको नाडीमा दछारिएको, ढाडमा भित्री चोट र दाहिने खुट्टाको घुँडा फ्याक्चर भएको एसपी केसीले जानकारी दिनुभयो । दुवै जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
जगातीबाट सूर्यविनायकतर्फ आउँदैं गरेको बाग्मती प्रदेश –०२–०२३ प २८५९ नं को मोटरसाइकल विपरित दिशाजाँदै गरेको प्रदेश नं ३ –०२–००२प ६९३ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाई ६९३ नं को मोटरसाइकल अनियन्त्रित भई सूर्यविनायकबाट जागातीजाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २४११ नं को टेलर गाडीमा समेत ठक्कर खाई दुर्घटना भएको हो ।
मृतक घिमिरे र घाईते किरण ६९३ नं को मोटरसाइकल र अर्का घाईते बडाल २८५९ नं को मोटरसाइकल सवार थिए । प्रहरीले टेलर गाडी चालक पर्साको विरगन्ज महानगरपालिका–२ बस्ने २५ वर्षिय हासिब हुसेन अन्सारी र सवारी साधन नियन्त्रण लिएर थप कारवाही भइरहेको जनाएको छ ।