मध्यपुर थिमिमा मदिराजन्य पदार्थ विक्रि वितरण र सेवनमा कडाई

भक्तपुर, साउन १३
मध्यपुर थिमि नगरपालिकाले परम्परागत बस्ती क्षेत्र र सम्पदा क्षेत्रमा मदिराजन्य पदार्थ बिक्रि वितरण र सेवनमा कडाई गरेको छ । मदिरा सेवन गरेर होहल्ला गर्ने, झैंझगडा गर्ने, अवान्छित गतिविधि गर्ने र शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि बढेको भन्दै नगरपालिकाले परम्परागत बस्ती क्षेत्र र सम्पदा क्षेत्रमा मदिराजन्य पदार्थ बिक्रि वितरण र सेवनमा कडाई गरेको हो ।
नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै राती ९ बजे पछि परम्परागत आवासिय क्षेत्र र सार्वजनिक महत्वका स्थानमा मदिराजन्य पदार्थको बिक्रि वितरण र सेवन गर्न रोक लगाएको जनाएको हो । नगरपालिकाका महाशाखा प्रमुख केशव सिलवालले शुक्रवार जारी गरेको सूचनामा नगरपालिका क्षेत्रभित्र होटल र मदिराजन्य पदार्थको व्यापार गर्ने व्यवसायीहरुले पनि राती ९ बजेसम्म मात्र व्यवसाय गर्न सम्पूर्ण व्यवसायी, उद्योगी र सर्वसाधारणलाई समेत अनुरोध गरिएको छ ।