डोलेश्वरमा साउन १ गतेदेखी श्रावणी मेला हुने

भक्तपुर, असार ३०

भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखी श्रावणी मेला लाग्ने भएको छ । प्रत्येक वर्ष झैं यसवर्ष पनि साउन १ गतेदेखी भदौ ६ गतेसम्म डोलेश्वर श्रावणी मेला लाग्ने भएको हो ।
मेला साउन १ गते बिहान स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट कलश यात्रा गरी शुरु हुने केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले शनिवार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।
साउन २ गतेदेखी ८ गतेसम्म पण्डित जनार्दन पौडेलबाट शिव पुराण कथा वाचन हुनेछ । साउन ९ गतेदेखी १५ गतेसम्म पण्डित उद्धव नारायण बास्कोटा शास्त्रीबाट पुरुषोत्तम महात्मे वाचन हुनेछ ।
मेलामा साउन १६ गतेदेखी २२ गतेसम्म पण्डित राघव अर्यालबाट श्रीमद् भागवत महापुराण वाचन हुनेछ । यसैगरी साउन २३ गतेदेखी २७ गतेसम्म पण्डित बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन वाचन हुनुका साथै साउन २८ गतेदेखी भादै ५ गतेसम्म विभिन्न गुरुहरुबाट धार्मिक् प्रवचनका साथै कलाकारहरुबाट भजन किर्तन हुने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
भाद्र ६ गते विशेष कार्यक्रमका साथ मेलाको समापन गरिनेछ । डोलेश्वर महादेवलाई वि. सं. २०६६ भाद्र ६ गते केदारनाथको शिर भएको घोषणा गरिएको थियो । सोही अवसरमा प्रत्येक वर्ष भाद्र ६ गते डोलेश्वरको विशेष पुजाका साथै विविध कार्यक्रम र श्रावणी मेलाको समापन समारोह हुँदैं आएको छ ।


मेला अवधीभर दुई लाख भन्दा बढी भक्तजन डोलेश्वरको दर्शनार्थ आउने अनुमान गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो । “विगत वर्षको अनुभवमा यसवर्ष पनि दुई लाख भन्दा धेरै भक्तजन आउने अपेक्षा गरिएको छ,” उहाँले भन्नुभयो, “साउनको सोमवार २५ देखी ३० हजार, शनिवार १५ हजारको हाराहारीमा भक्तजन आउने गरेको छ ।”
मेलाको व्यवस्थापनका लागि स्थानीय स्वयम् सेवक, स्काउट, नेपाल रेडक्रस सोसाईटीका स्वयम् सेवक, नेपाल प्रहरी परिचालन गरिने समितिका महासचिव हरिशरण बस्नेतले बताउनुभयो । त्यसैगरी सोमवारको मेलामा भक्तजनका लागि सर्वतको व्यवस्था, स्वास्थ्य परिक्षणलगायतको व्यवस्था गरिनेछ । मेलाको लागि विभिन्न समितिहरु गठन गरिएको र ती समितिहरुले मेलाको लागि सम्पूर्ण तयारी पुरा गरेको महासचिव बस्नेतले बताउनुभयो ।
सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वर दर्शन गर्न आउने भक्तजनलाई धार्मिक पर्यटनसँग जोडेर स्थानीयको आय आर्जनसँग जोड्ने योजना वडाको रहेको बताउनुभयो । “डोलेश्वरको पुजामा प्रयोग हुने फलफुल, धुपलगायतका वस्तु स्थानीय स्तरमा उत्पादन गरी प्रवद्र्धन गर्ने र यहाँका स्थानीयको जीवनस्तर उकास्न डोलेश्वर महादेवमा आउने भक्तजनलाई पर्यटनसँग जोडेर लैजाने योजना रहेको छ,” उहाँले भन्नुभयो ।
भक्तपुर र राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय पहिचान बनाउन सफल भइसकेको डोलेश्वर महादेव परिसरको विकास र संरक्षणमा वडा कार्यालय र नगरपालिका सधैं सहकार्य गरि अघि बढ्ने उहाँले विश्वास दिलाउनुभयो ।


यसैबीच डोलेश्वरमा पछिल्ला केही महिना यता भारतीय भक्तजनको संख्या बृद्धि हुन थालेको छ । पशुपतिको दर्शनका लागि आउने भारतीय भक्तजनको दोस्रो गन्तव्य डोलेश्वर हुन थालेको यहाँ आउने दैनिक सयौंको संख्याले पुष्टि गर्दछ । गत जेठ ३ गतेदेखी ९ गतेसम्म पर्साको बिरगंजमा आयोजना गरिएको शिव महापुराण कथा वाचनमा डोलेश्वर महादेवको प्रवचन धार्मिक टेलिभिजन च्यानल आस्था टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरे पश्चात हाल दैनिक रुपमा भारतीय भक्तजनको डोलेश्वरमा चाप बढिरहेको समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो ।