अ. धम्मवती गुरुमाको जन्मदिनको उपलक्ष्यमा साप्ताहिक अभिधम्म पाठ धर्मकिर्ति विहारमा शुभारम्भ

असार १३ गते, काठमाण्डौ ।

अ. धम्मवती गुरुमाको ९० औं जन्मदिनको उपलक्ष्यमा भिक्षुसंघद्वारा साप्ताहिक अभिधम्म पाठ आजदेखि धर्मकिर्ति विहार, श्रीघल, काठमाण्डौमा शुभारम्भ भएको छ ।

कार्यक्रमको शुरुवातमा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मसोभन महास्थविरले मानिसको जन्म लिई अभिधम्म पाठ पढ्न पाउनु दुर्लभ भएको र धम्मसङ्गणी भनेको धर्मको नीति भएको र त्यसमा मनोवैज्ञानिक रुपमा व्याख्या गरिएको छ भनी धर्मदेशना दिनुभयो ।

आज अभिधम्म अन्तर्गत ‘धम्मसङ्गिणी पाठ’ नेपालका उप संघनायक भिक्षु गुणघोष महास्थविर, भिक्षु धम्मसोभन महास्थविर, भिक्षु राहुल महास्थविर, भिक्षु उपतिस्स महास्थविर, भिक्षु सद्धातिस्स महास्थविर, भिक्षु कोलित महास्थविर, भिक्षु मेधंकर, भिक्षु शान्तसिद्धार्थ, भिक्षु शान्तशोभन, भिक्षु गौतमले सामूहिक पाठ गर्नुभएको थियो ।

 

साप्ताहिक अभिधम्म पाठ असार १३ गतेदेखि १९ गतेसम्म र २० गते बज्रयान महायान पाठ बिहान ७ बजेदेखि १० बजेसम्म हुनेछ ।

अ. धम्मवती गुरुमाले २०१८ सालमा नै तत्कालिन बर्मा (हालको म्यानमार) बाट उच्च धार्मिक शिक्षा ‘सासनधज धम्माचरिय’ उत्तीर्ण गर्नुभएको थियो । नेपाल फर्किनु भइसकेपछि उहाँले बुद्ध शासनको प्रचारप्रसारमा धेरै ठूलो योगदान दिइरहनु भएको छ । विशेष गरेर महिलाहरुलाई जागरणमूलक सशक्तिकरण गरी बुद्ध शासनमा प्रव्रजित गराउने तर्फ पनि योगदान दिनुभएको छ ।

उहाँ म्यानमार सरकारबाट ‘अग्गमहागन्थवाचक पण्डित’, नेपालभाषा परिषदबाट ‘भाषाथुवाः’, स्वयम्भू ज्ञानमाला भजनको तर्फबाट ‘ज्ञानमाला रत्नवत सिरपाः’बाट पनि सम्मानित हुनुहुन्छ ।