रगत संकलन र भण्डारणमा लाग्ने खर्च सरकारले व्यहोर्नुपर्छ – सांसद थापा

भक्तपुर, जेठ ३१
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरले २० औं रक्तदाता दिवसको अवसरमा बुधवार आयोजित सम्मान कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले राष्ट्रिय स्तरमा रगत संकलन र भण्डारणमा लाग्ने खर्च सरकारले व्यहोर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
सांसद थापाले रगतमा व्यापारीकरण भयो भनी नकारात्मक कुरा गर्नुभन्दा रक्तसञ्चार सेवा र सुविधा पुर्याउन सकियो की सकेन भन्नेतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
उहाँले कुनै बेला रत्नपार्कमा ठेलागाडा चलाउनेलाई केही रकम दिएर फकाएर रगत लिनुपर्ने अवस्थाबाट विकास भएर आज आवश्यक पर्दा सहज र सरल तरिकाले रगत पाउन सकिने अवस्थामा पुग्न ठूलो योगदान दिने स्वयम्सेवी रक्तदाताको योगदानलाई कसैले पनि भुल्न नहुनेमा जोड दिनुभयो ।


राजनीतिलाई भ्रमको खेती बनाउन नहुने बताउँदैं उहाँले राजनीतिमा कसैले कसैलाई बदनाम गरेर वा खुइलाएर कहीँ कतै पुग्न नसकिने टिप्पणी गर्नुभयो । उहाँले राजनीतिलाई सधै नकारात्मक टिप्पणी गर्ने प्रवृत्तिले स्थायित्व नहुनेमा समेत जोड दिँदैं यसले अन्ततः व्यवस्था प्रति नै वितृष्णा उत्पन्न गराउने तर्फ सबै सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
बागमती प्रदेश सभा सदस्य किरण थापाले आफुपनि रेडक्रसकर्मीका साथै स्वयम्सेवी रक्तदाता भएको चर्चा गर्दै रक्तदान जस्तो मानवीय सेवामा युवाहरुलाई अभिप्रेरित गर्नुपर्ने र मृत्युसँग लडिरहेको एउटा बिरामीको जीवन बचाउने रक्तदातालाई समाजले सधै उच्च सम्मान दिनुपर्ने बताउनुभयो ।
अर्का बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले भक्तपुर जिल्लाका चार वटै नगरपालिकाको सहयोगमा भक्तपुर बासीले निःशुल्क रगत तथा रक्ततत्व पाउने व्यवस्था भएको चर्चा गर्दै सोही व्यवस्था बागमती प्रदेश सरकारले पनि अनुशरण गर्नुपर्ने आवाज प्रदेश सभामा जोडदार ढंगले उठाएको बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरबासीको स्वास्थ्यको अधिकारका लागि नगरपालिकाले नगरबासीले निःशुल्क रगत प्राप्त गर्ने व्यवस्था गरेको बताउनुभयो । उहाँले रेडक्रसले निर्माण गर्ने कोल्डरुमलाई नगरपालिकाले एक लाख रुपैंया उपलब्ध गराउने घोषणा गर्नुभयो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले रगत दान जस्तो पुण्य र धर्मको कार्य अरु कुनै नभएको चर्चा गर्दै रक्तदातालाई जति सम्मान गरेपनि अपुग हुने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरका सभापति मनोज कुमार थापाले रेडक्रसले स्वय्म सेवी रक्तदाताबाट निःशुल्करुपमा प्राप्त रगतको संकलन, परीक्षण र भण्डारमा लाग्ने खर्चको तुलनामा न्यून शुल्क लिएर बिरामीलाई रगत उपलब्ध गराउँदैं आएको जानकारी दिनुभयो ।
उहाँले देशभरका २ प्रतिशत जनताले रक्तदान गरे नेपालमा रगतको समस्या हल हुने भएकाले १८ वर्ष उमेर पुगेका स्वस्थ नागरिकलाई रक्तदान गर्ने प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।


नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको रक्तसञ्चार सेवा समितिका संयोजक सोम प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजार, नेपाल स्वयम्सेवी रक्तदाता समाज, ब्लोदान, लायन्स क्लवका प्रतिनिधिलगायतले स्वयमेसेवी रक्तदाताबाट निःशुल्क रुपमा दान गरिएको रगतलाई केही नीजि अस्पतालले व्यापार गरेको गुनासो सुनिन थालिएकोले त्यस्तो विकृती विरुद्ध सबैले आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले एक पटकमा एक सय भन्दा बढी पिन्ट रगत संकलन गर्ने संघसंस्था, एक वर्षमा ३ पटक भन्दा बढी रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्था, रेडक्रसको रक्तसञ्चार केन्द्रमा उपस्थित भई एक वर्षमा ३ पटक भन्दा बढी रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सांसद थापाले रक्तदान सम्बन्धी गित र रक्तसञ्चार सम्बन्धी बुलेटिनको विमोचन समेत गर्नुभएको थियो ।