भक्तपुरमा आज तःदिँको रुपमा दिगुपुजा पर्व मनाईंदैं

भक्तपुर, बैशाख १४
भक्तपुरका नेवार समुदायका अधिकांशले आज बिहिवार तःदिँ (वर्षको ठूलो दिन)को रुपमा दिगुपुजा पर्व मनाउँदैछन । भक्तपुरको नेवार समूदायले अक्षय तृतिया पछि आइतवार र बिहिवार मध्ये जुन दिन पहिले आउँछ उक्त दिनलाई तःदिँ मानेर दिगुपुजा पर्व मनाउने गर्दछ । सोही अनुसार यसवर्ष बिहिवार तःदिँको रुपमा दिगुपुजा पर्व मनाउन लागेको हो ।
भक्तपुरका नेवार समूदाय मध्ये केहीले दिगुपुजा बैशाख ३ गते मनाईन्छ । त्यसैगरी अक्षय तृतियको दिन पनि दिगुपुजा गर्ने समूदाय पनि छन । तर अधिकांशले तःदिँको दिन दिगुपुजा पर्व मनाउँछन । त्यसो त सिथिनखःसम्म समय मिलाएर दिगुपुजा गर्ने समूदाय पनि छन भने मंसिरको धान्य पुर्णिमामा दिगुपुजा गर्ने नेवारहरु पनि छन ।
दिगुपुजा नेवार समूदायको विशिष्ट पहिचानसहितको मौलिक पुजा हो । दिगुपुजा अप्रभंश भई कसैले देउपुजा, देपुजा, दुगुपुजा इत्यादी भन्ने गर्दछन । जे जुन नामले परिचित भएपनि अन्ततः दिगुपुजा कुलका सबै दाजुभाई एक ठाउँमा भेला भई गरिने पुजा अर्थात कुल पुजा हो ।
धेरैले दिगुपुजा खुल्ला चउर, दुप्फो वा आफ्नो निश्चित स्थानमा आफ्नो कुलको सबै परिवार जम्मा भई गरिने पुजा हो । अचेल विविध कारणले घरकै आँगन, कौशी वा घरभित्र पुजा गर्न थालेका छन ।
यसै अनुसार भक्तपुरको हनुमानघाट क्षेत्र, सिद्धपोखरी, भाज्या पोखरी, सैनिक आवासिय महाविद्यालय क्षेत्र र सो क्षेत्रमा रहेको रानीपोखरी, मध्यपुर थिमि वडा नं. २ सानोथिमिस्थित नेपाली सेनाको व्यारेक क्षेत्रमा दिगुपुजा गर्नेहरुको भिड लाग्ने गर्दछ ।
दिगुपुजाका लागि घरदेखी कुल देवतालाई दिगुपुजा गर्ने पिठमा ल्याउने, धुमधामका साथ परम्परागत विधिविधान अनुसार पुजा गरी हाँस, बोका बली दिई प्रसाद ग्रहण गरेर पुनः कुल देवतालाई घर लैजाने प्रचलन रहेको छ ।
दिगुपुजा कहिलेदेखी शुरु भएको हो भन्ने ईतिहास अहिलेसम्म स्पष्ट भएको छैन, यद्यपी दिगुपुजा गर्ने नेवारहरु प्रकृतिको पुजक भएकोले प्राचिनकालदेखी यो पुजा चल्दै आएको संस्कृतिकर्मीहरुको दावी छ ।