जात्रालाई पुस्तान्तरण गर्दै २७ वर्षिय सुजनले जिब्रो छेडाए

भक्तपुर, बैशाख २
मध्यपुर थिमिको वडा नं. ८ बोडेका स्थानीय २७ वर्षिय सुजन बाग श्रेष्ठ विशेष पहिरनका साथ स्थानीय पाचो गणेश मन्दिर परिसरमा निर्माण गरिएको मञ्चमा दुई हात जोडेर उपस्थित हजारौंलाई नमस्कार गर्दै उक्लिए । त्यससँगै जयजयकारले बोडे गुञ्जियो ।
मञ्चमा रहेका सुजनका बुवा बुद्धकृष्ण बाग श्रेष्ठले उनलाई धाप मार्दै केही कानेखुसी गर्नुभयो । त्यसपछि सुजनको मुहार थप चम्किलो भयो । सँगै रहेका सुजनका माइलो बुवा कृष्णचन्द्र बाग श्रेष्ठले उनलाई थप हौसला र ढाडस दिनुभयो र सुजन जिब्रो छेडेर ऐतिहासिक धार्मिक एवम् साँस्कृतिक महत्वको प्रसिद्ध जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन तयार हुनुभयो ।
पमा नाईकेको अनुमतिले कर्मी नाइकेको रुपमा उपस्थित हुनुभएका सुजनका माइलो बुवा कृष्णचन्द्रले करिव एक फिट लामो नातु (सुईरो)ले सुजनको जिब्रो छेड्नुभयो । फेरी एक पटक बोडे जयजयकारको आवाजले गुञ्जियो । सुजनले उपस्थित सम्पूर्णलाई नमस्कार गर्दै अभिभादन गर्नुभयो । त्यसपछि भ्यय् (बत्तिसहितको बाँसले निर्माण गरिएको अर्धचन्द्रकार महादिप) काँधमा बोकेर सुजनले बोडे परिक्रमा गरेसँगै बोडेको जिब्रो छेड्ने जात्रामा पुस्तान्तरण समेत भएको छ ।
त्यसअघि जात्राको परम्परा अनुसार जिब्रो छेड्ने कर्मी नाइके र नाइके प्रधानको उपस्थिति भएपछि नाय्खिं बाजा बजाएर सुईरो बनाउने नकर्मीलाई लिन गएका थिए । एक महिनासम्म तेलमा डुबाएर राखेको सुइरो सहित नकर्मी मञ्च आएपछि नाय्खिं बाजासहितको टोली जिब्रो छेड्ने व्यक्तिलाई लिन गएका थिए ।
नाइके प्रधानले पूmल, अक्षता र पैसा सहित दिएको नातुले कर्मी नाइकेद्धारा सम्पूर्ण देवतासंग प्रार्थना गरी जिब्रो छेड्नुभएको थियो । जिब्रो छेडाएर सुजनले भ्यय् बोकेर स्थानीय लाछिबाट लायकु छें, पाचो, तांक्व, विष्णुघाट, भाँगु, दुवाः खाँसी, दःवु, न्हूमंला, खपला, दथुननी, सिचुननी, थिमिला क्वयननी टोल परिक्रमागरी स्थानीय महालक्ष्मी मन्दिरमा पुग्नुभएको थियो ।
जहाँ जात्रा गरि महालक्ष्मी स्थान पु¥याएको पाचो गणेशको रोहवरमा कर्मी नाईकेले नातु निकालेर जिब्रोको प्वालमा महालक्ष्मी मन्दिरको माटो राखिदिनुका साथै नातु गणेश मन्दिरमा ठोकिदिएका थिए । अन्तःमा सुजनले नास द्यो (नाट्यश्वर)को पूजा गरी जात्रा सम्पन्न भएको थियो ।


यसअघि सुजनका बुवा बुद्धकृष्ण बाग श्रेष्ठले ९ पटक जिब्रो छ्डेर जात्रालाई निरन्तरता दिनुभएको थियो भने सुजनका माइलो बुवा कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाउनुभएको थियो । माइलो बुवा र बुवाले करिव दुई दशक जिब्रो छेडाएर निरन्तरता दिएको जात्रालाई यसवर्ष सुजनले जिब्रो छेडाएर जात्रामा युवालाई आकर्षित गर्नुका साथै पुस्तान्तरण समेत गरेको मध्यपुर थिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।

दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइदै आएको बोडेको यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ ।
किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भुतप्रेत, पिशाच, ख्याक तथा कंकालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेको त्यसलाई हटाउन तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभर पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा सुरु भएको हो ।
जिब्रो छेड्ने व्यक्तिले तीन दिनदेखि शुद्ध भई पानी मात्र खाएर व्रत बस्नुपर्छ । एक महिनादेखि तेलमा डुबाइराखेको करिब ११ इन्च लामो सुइरोले जिब्रो छेडिन्छ । विशेष पहिरन र खुट्टामा तान्त्रिक घण्टी लगाई जिब्रो छेड्नुअघि शक्तिपीठको दर्शन गर्ने परम्परा छ ।