सालकको खपटा सहित दुई जना पक्राउ

भक्तपुर, चैत्र २१
भक्तपुर प्रहरीले सालकको खपटासहित दुई जनालाई मंगलवार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चाँगुनारायण नगरपालिका–२ बस्दै आएका मकवानपुरको हटौंडा उपमहानगरपालिका–३ का २२ वर्षिय आसुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाँउपालिका–२ का २६ वर्षिय अमृत गजमेर रहेका छन ।
उनीहरुलाई चाँगुनारायण नगरपालिका २, बर्खेबाट पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (प्रनाउ) बसन्त पाठकले बताउनुभयो ।


सालकको खपटा बिक्रि वितरणका लागि बोकी हिँडीरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । सोही क्रममा बाग्मती प्रदेश ०२–०२० प. ८४९७ नम्बरको केटिएम मोटरसाइकलमा करिव एक किलो सालकको खपटा बोकी हिँडीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय भक्तपुरमा पठाउने प्रनाउ पाठकले बताउनुभयो ।