रास्वपा सभापति लामिछानेको भनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार ः महासंघ

भक्तपुर, माघ २२
नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आइतवार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा व्यक्त अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताएको छ ।
कार्यक्रममा लामिछानेले सञ्चार माध्यम, तिनका सञ्चालक र पत्रकारबारे टिप्पणी गरेका गर्नुभएको थियो । लामिछानेको सोही टिप्पणीलाई आधारहीन र पूर्वाग्रही आरोप लगाएर धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै महासंघले विरोध जनाएको हो । महासंघले सञ्चार क्षेत्रप्रति लामिछानेले दिएको अभिव्यक्ति आपत्तिजनक र अशोभनीय भएको बताएको छ ।
महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै लामिछानेले नाम लिएर सार्वजनिक धम्की दिँदा सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुन सक्ने बताएको छ । ‘लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयं लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्ने महासंघ प्रष्ट पार्न चाहन्छ’ विज्ञप्तिमा भनिएको छ ।
‘पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो । संसदको चौथो ठूलो दलका सभापति तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार हो,’ विज्ञप्तीमा उल्लेख छ ।
सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रावधान हुँदा हुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय भएको महांसंघको भनाइ छ । महासंघले आफ्नो धम्कीपूर्ण अभिव्यक्ति फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकारको सम्मान गर्न पनि आग्रह गरेको छ ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित हुने छैन,’ विज्ञप्तीमा उल्ल्ेख छ, ‘लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको महासंघ कडा शब्दमा निन्दा गर्दछ । साथै आफ्नो अभिव्यक्ति फिर्ता लिइ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग महासंघ जोडदार माग गर्दछ ।’


यस्तै नेपाल प्रेस युनियनले पनि रास्वपाका सभापति रवि लामिछानेले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । युनियनले विज्ञप्तिमा भनिएको छ, ‘पूर्व सञ्चारकर्मी लामिछानेले कुनै आधार र प्रमाणबिना सञ्चारमाध्यम, सम्पादक र समग्र पत्रकारितालाई बद्नाम गर्ने गरी दिएका अभिव्यक्ति खेदजन्य छन् ।’ आमनागरिकबाट जनमत प्राप्त गरेर आएका एक राजनीतिकर्मीले दिएका अभिव्यक्ति अपरिपक्व र अराजनीतिक छन् भन्ने बुझाइ युुनियनको छ ।