परम्परागत र मौलिक स्वरुपका घरहरुको संरक्षण गर्नुपर्छ – बिजुक्छें

भक्तपुर, माघ ५
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेंले परम्परागत र मौलिक स्वरुपका घरहरुको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले संयुक्तरुपमा बिहिवार दत्तात्रयमा आयोजित जनचेतनामूलक शैक्षिक प्रदर्शनी कार्यक्रममा बिजुक्छेंले परम्परागत र मौलिक स्वरुपका घरहरुको लोप हुन लागेकोमा चिन्ता व्यक्त गर्दै त्यस्ता घरहरुको संरक्षण गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले भवन निर्माणमा आधुनिक तथा नयाँ नयाँ प्रविधि प्रयोग बढेसँगै मौलिक घरहरु लोप हुँदै गएको बताउँदैं देखावटीको निम्ति मात्र पुरानो शैलीको घर निर्माण गर्नु गलत भएको धारणा राख्नुभयो ।
उहाँले माटो जोडाई, ढुंगा र काठ तथा प्राकृतिक स्रोतको प्रयोगबाट मौलिक शैलीमा घर निर्माण गर्नेतर्फ अनुसन्धानको आवश्यकता रहेको खाँचो औंल्याउँदैं मौलिक कला र सीपयुक्त प्रविधिबाट निर्माण भएका संरचनाले ठूल्ठूला भूकम्पहरुमा कम क्षति भएको अनुभव सुनाउनुभयो ।


सिमेन्टको घरले फोक्सो तथा नसासम्बन्धी धेरै रोगहरु निम्त्याइरहेको तर्फ सजग पार्दै अध्यक्ष बिजुक्छेँले भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरुले अनुसन्धानलाई जोड दिँदै भूकम्प प्रतिरोधी घर निर्माण गर्नेतर्फ जनतालाई सचेत पार्ने काम गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भूकम्पले क्षति मात्र नभई सहर पुनःनिर्माणको अवसर पनि मिलेको बताउँदैं भक्तपुर नगरपालिकाले भौतिक पूर्वाधार तथा निर्माण मापदण्ड तयार गरी भूकम्प प्रतिरोधी निर्माणको लागि आवश्यक व्यवस्था मिलाउंदै आएको जानकारी दिनुभयो ।
ख्वप ईन्जिनियरिङ कलेज र ख्वप कलज अफ ईन्जिनियरिङबाट विकास निर्माणको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरी बलियो र भरपर्दो निर्माणको लागि राष्ट्रिय रुपमा टेवा पु¥याउँदै आएको बताउँदैं नगर प्रमुख प्रजापतिले नपाले प्रत्येक वर्ष भवन निर्माण कार्यमा संलग्न डकर्मी, सिकर्मीलगायत प्राविधिकहरुलाई भूकम्प प्रतिरोधी प्रविधिसम्बन्धी तालिम प्रदान गर्दै जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भूकम्पलगायत विपद्का बेला सुरक्षित बसोबासका लागि खुल्ला क्षेत्र र सार्वजनिक ठाउँको संरक्षणमा स्थानीय तहले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्यद्वय सुजन माक र सुनिल दुवाल, ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापतिले भूकम्प प्रतिरोधी क्षमता विकास गर्न भूकम्पसम्बन्धी अध्ययन अनुसन्धानलाई निरन्तरता दिनुपर्ने र ख्वप इन्जिनियरिङ कलेजले भूकम्प विषयमा स्नातकोत्तर विषयउको अध्ययन अध्यापक सञ्चालन गरेकै कारण यस किसिमको शैक्षिक प्रदर्शनी गर्न सफल भएको बताउनुभयो ।