नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा डाईलायसिस सेवा शुरू हुने

भक्तपुर, पौष ७
मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मिर्गौलाको डाईलायसिस सेवा शुरू हुने भएको छ ।
रोटरी क्लव अफ मध्यपुर मार्फत मध्यपुर थिमि नगरपालिकासंग सहकार्यमा रोटरी क्लव अफ सांग्ली मिडटाउनको प्राविधिक सहयोग र रोटरी क्लव अफ जवलपुर वेष्टको आर्थिक सहयोगमा सो अस्पतालमा जडान गरिएका ४ वटा मेसिन सहितको कक्ष बिहिवार हस्तान्तरण गरेसँगै डाईलायसिस सेवा शुरु हुन लागेको हो ।
अस्पताल भवनमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख एवम् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठ र रोटरी ईन्टरनेशनल डिष्ट्रक ३२९२ का पुर्व डिजि किरणलाल श्रेष्ठले संयुक्तरूपमा डाईलायसिस मेसिन अस्पताललाई हस्तान्तरण गर्नुभएको हो ।


डाईलायसिस मेसिनका लागि रोटरी क्लवले करिव ४१ लाख ७५ हजार रुपैंया र मध्यपुर थिमि नगरपालिकाबाट करिव २० लाख सहयोग गरेको रोटरी क्लव अफ मध्यपुर पुर्वअध्यक्ष उषा प्रजापतिले जानकारी दिनुभयो ।
सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले अस्पतालको सेवा बृद्धिमा डाईलायसिस सेवाको बिस्तारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नगरवासीको स्वास्थ्यको अधिकारको रक्षा गर्दै सरल र सहज स्वास्थ्य सेवाका लागि नगरपालिका सधैं तत्पर रहेको बताउनुभयो ।


अस्पतालको सेवा बिस्तार सँगै गुणस्तरिय सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने विश्वास दिलाउँदैं उहाँले निर्वाचनको बेला जनता समक्ष गरेको वाचा पुरा गर्ने सवालमा डाईलायसिस सेवा कोसेढुंगा सावित हुने बताउनुभयो ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले डाईलायसिस सेवा सञ्चालनसँगै यसको गुणस्तरीय सेवामा ध्यान दिई अस्पतालमा स्वास्थ्यका थप सेवा बिस्तार गरिने बताउनुभयो । उहाँले अस्पतालमा नर्सिङ विषयको कक्षा सञ्चालन गर्ने लक्ष्य रहेको र त्यसको लागि नगरपालिकाले पहल गरिरहेको जानकारी दिँदैं नगरपालिकालाई व्यवस्थितरुपमा सञ्चालन गर्न आवश्यक नीति निर्माणमा नगरपालिका लागि परेको बताउनुभयो ।
कार्यक्रममा लाइन्स क्लव अफ मध्यपुरका संस्थापक अध्यक्ष सुरेन्द्रविक्रम प्रजापति, अस्पतालका निर्देशक डाक्टर डिके रौशनलगायतले डाईलायसिस सेवा सञ्चालन गर्न आवश्यक सहयोगले नगरवासीहरूलाई अस्पतालले स्वास्थ्य सेवा दिनेमा थप नौलो आयाम भएको र आगामी दिन अस्पताल, नगरपालिका र क्लवबीच एकआपसमा सुमुधुर सम्बन्ध कायम गरी थप सहयोगहरू आदान प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।