भक्तपुर क्षेत्र नं. १ मा विरासत जोगाउने र भत्काउने बीच प्रतिष्पर्धा

लक्ष्मी गारु, भक्तपुर, कार्तिक २२
वि. सं. २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि सम्पन्न सबै आम निर्वाचनमा एउटै दलले निर्वाचन जित्दै आएका अति कम निर्वाचन क्षेत्र मध्येको एक हो भक्तपुर क्षेत्र नं. १ । यहाँ २०४८ सालदेखी लगातार नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले निर्वाचन जित्दै आएको छ । यसपटक पनि यहाँ नेमकिपाको बलियो र एकछत्र पक्कड देखिन्छ । यद्यपी यहाँ नेमकिपाको विरासत भत्काउन सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रका सुनिल गोठे ‘बासु’ र नेकपा एमालेका नवराज गेलाल अघि सरेका छन ।
भक्तपुर क्षेत्र नं. १ मा २०४८, २०५१, २०५६, २०६४ र २०७० मा सम्पन्न निर्वाचनमा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंले लगातार चुनाव जित्नुभयो । २०७४ मा भने बिजुक्छेंले आफ्नो उत्तराधिकारीको रुपमा पार्टी सचिव प्रेम सुवाललाई अघि सार्नुभयो । यसलाई धेरैले चासोको रुपमा लिएका थिए । विपक्षी दलहरुका लागि पनि एउटा परीक्षा कै घडी बनेको थियो । तर पनि बाजी सुवालले नै मारे ।


स्थानीय निर्वाचनको मिश्रित मत परिणाम
भक्तपुर क्षेत्र नं. १ मा भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाको सबै भाग पर्दछ । गत बैशाखमा स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकामा नेमकिपाले क्लिन स्विप गरेको थियो । दश वटा वडा रहेको भक्तपुर नगरपालिकाका केही वडामा सत्ता गठबन्धन र नेकपा एमालेले समेत तालमेल गर्दा पनि एउटा वडा सदस्य समेत जित्न सकेन । भक्तपुर नगरपालिकाको प्रमुख र उपप्रमुखलगायत वडाअध्यक्षमा उम्मेदवारी दिएका नेपाली कांग्रेस, नेकपा एमालेलगायत अन्य दलका उम्मेदवारहरुको जमानत समेत जफत भएको थियो ।
स्थानीय निर्वाचनमा नेमकिपालाई दुई वटा चुनौती देखिएको थियो । २०७४ मा पनि क्लिन स्विप गरेको नेमकिपालाई यसपटक कुनै पनि हालतमा क्लिन स्विप गर्न नदिने भन्दै वडा नं. १ मा कांग्रेस, एमाले र माओवादी केन्द्रले तालमेल गरेका थिए, त्यसका बाबजुद पनि नेमकिपा भारी मतका साथ विजयी भए ।
त्यस्तै नगरपालिकाले सञ्चालन गरेको डेको मिवा इतापाके जग्गा एकिकरण आयोजना पिडितहरुले पनि छुट्टै समूह गठन गरी दुई वटा वडाको वडाअध्यक्ष र नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । यो समूहले नगरप्रमुखमा २ हजार ३९९ र वडा अध्यक्षमा एक हजार ७३ मत पाएका थिए ।
भक्तपुर नगरपालिकाको प्रमुखमा नेमकिपाका सुनिल प्रजापतिले २९ हजार २५२ मत ल्याई विजयी हुँदा प्रमुख प्रतिष्पर्धी कांग्रेसका राम प्रसाद कासुलाले ३ हजार ४०७, एमालेका रविन्द्र लाछिमस्यूले २ हजार ८४१, आयोजना पिडित स्वतन्त्र उम्मेदवार सत्यराम त्वायनाले २ हजार ३९९, राप्रपाका बद्री लाखाजुले १ हजार ८१ र माओवादी केन्द्रका तुल्सी भक्त सुवालले ७६१ मत ल्याएका थिए ।
त्यस्तै उपप्रमुखमा नेमकिपाकी रजनी जोशीले २९ हजार ९२७ मतका जित हासिल गर्दा एमालेकी रञ्जना खर्बुजाले २ हजार ९८८, नेकपा एकिकृत समाजवादीका ओम चरण अमात्यले १ हजार ७७८, राप्रपाकी लक्ष्मी छुस्याबागले १ हजार २५७ र माओवादी केन्द्रकी ईन्द्रमाया सुवालले ९४९ मत पाएका थिए । भक्तपुर नगरपालिकामा कांग्रेस र नेकपा एसले तालमेल गरेको थियो, जसअनुसार कांग्रेसले नगरप्रमुखमा नेकपा एसले उपप्रमुखमा उम्मेदवारी दिएको थियो ।
वडा अध्यक्षहरुले प्राप्त गरेको मत अनुसार नेमकिपाले २९ हजार ९२६., कांग्रेसले ३ हजार ३१८ र एमाले २ हजार ८२९, राप्रपाले १ हजार १४२, माओवादी केन्द्रले ६१३ मत पाएका थिए ।
त्यसैगरी ९ वटा वडा रहेको चाँगुनारायण नगरपालिकामा भने गत स्थानीय निर्वाचनमा मिश्रित परिणाम आएको छ । नगर प्रमुखसहित ४ वडाअध्यक्ष कांग्रेसले जितेको छ भने उपप्रमुखसहित दुई वडाअध्यक्ष नेकपा एमालेले जिते । त्यस्तै दुई वडाअध्यक्ष राप्रपा र एक वडाअध्यक्ष नेमकिपाले जितेको छ ।


चाँगुनारायणमा कांग्रेसका जीवन खत्रीले ९ हजार ५५० मत ल्याई नगरप्रमुखमा विजयी हुँदा निकतम प्रतिपर्धी नेकपा एमालेका विना बास्तोलाले ९ हजार १६०, नेमकिपाका केशव प्रसाद तिमिल्सिनाले ३ हजार २६७, राप्रपाका रविन्द्र प्रताप शाहले ८ हजार ६७ र नेकपा माओवादी केन्द्रका नरेश खड्काले ८६८ मत ल्याएका थिए ।
मिश्रित परिणाम आएको चाँगुनारायण नगरपालिकामा उपप्रमुखका एमालेका रमेश बुढाथोकी विजयी भएको थियो । उहाँले ११ हजार १०७ मत ल्याउँदा उहाँका निकतम प्रतिष्पर्धी कांग्रेसकी सुभद्रा काफ्लेले ९ हजार ७६ मत ल्याएका थिए । त्यस्तै नेमकिपाले ३ हजार ३७४, राप्रपाले ६ हजार ८६ र माओवादी केन्द्रले ७९८ मत ल्याएका थिए ।
त्यस्तै वडाअध्यक्षका उम्मेदवारहरुले प्राप्त मतका आधारमा कांग्रेसले ९ हजार ४७१, एमालेले ११ हजार २९०, राप्रपाले ५ हजार १४४, नेमकिपाले ३ हजार ९६८, माओवादी केन्द्रले ७९८ पाएको थियो । कांग्रेस र राप्रपाले वडा नं. ६ मा तालमेल गरी वडाअध्यक्षमा कांग्रेसले राप्रपालाई सघाएको थियो ।
स्थानीय निर्वाचनमा वडाअध्यक्षले प्राप्त गरेको मत परिणामका आधारमा भक्तपुर क्षेत्र नं. १ मा नेमकिपाको ३३ हजार ८९५ मत रहेको छ । कांग्रेसको १२ हजार ७८९, एमालेको १४ हजार ११९, राप्रपाको ६ हजार २८६ र माओवादी केन्द्रको १ हजार ४११ मत रहेको छ ।
२०७४ को मत परिणाम
भक्तपुर १ मा ०७४ सालको निर्वाचनमा नेमकिपाका प्रेम सुवाल ३३ हजार ७६ मतका साथ विजयी हुनुभएको थियो । उहाँको प्रमुख प्रतिद्वन्द्वी कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८ सय १८ र माओवादी केन्द्रका मिलन सुवालले १५ हजार ३ सय ७४ मत प्राप्त गरेका थिए । सुवाललाई त्यस बेला नेकपा एमालेको साथ थियो ।
यसपटक राजनीतिक समिकरण फेरिएको छ । २०७४ मा एमालेसँग बाम गठबन्धन गरेको माओवादी केन्द्र यसपटक कांग्रेससँग गठबन्धनमा छ । एमाले विभाजन समेत भएको छ, यद्यपी भक्तपुर १ मा एमाले विभाजन असर कम देखिन्छ ।
भक्तपुर १ मा कुल मतदाता
जिल्ला निर्वाचन कार्यालयका अनुसार भक्तपुर क्षेत्र नं. १ मा कुल एक लाख एक हजार २६१ मतदाता रहेका छन । जसमध्ये ४९ हजार ८३९ पुरुष र ५१ हजार ४२२ महिला छन ।

यसपटक को को चुनावी मैदानमा
भक्तपुर १ मा यसपटक नेमकिपाले पुनः सुवाललाई नै अघि सारेको छ भने कांग्रेसले सत्ता गठबन्धनका दल माओवादी केन्द्रका सुनिल गोठेलाई समर्थन गरेको छ । एमालेले पुर्व जिसस प्रमुख समेत रहनुभएका नवराज गेलाललाई अघि सारेको छ । गोठे र गेलाल मतदाताका लागि नयाँ अनुहार हुन ।
यसका साथै भक्तपुर १ मा राप्रपाका भरत बहादुर खड्का, राप्रपा नेपालका माधव खत्री, नेपालका लागि नेपाली पार्टीका अजुर्न प्रसाद नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपालका डम्बर बहादुर थिङ्ग, नेकपा माओवादी लेलिनवादीका दिपक लामिछाने मौलिक जरोकिलो पार्टीका बलराम प्रजापति, जनता समाजवादी पार्टी नेपालका हिरालाल खड्का र स्वतन्त्र उम्मेदवारहरु सुलोचना छ्वाजु, पुष्पराम गेलाल, गोकर्ण प्रसाद गेलाल र अर्जुन कोजू गरी १४ जना चुनावी प्रतिष्पर्धामा छन ।
के छ त उम्मेदवारका एजेण्डा ?
नेमकिपाका प्रेम सुवालले राष्ट्रिय र अन्तराष्ट्रिय मुद्दालाई चुनावी एजेण्डाको रुपमा अघि सारेको छ । सुवालले संसद ऐन कानुन र नीति निर्माण गर्ने थलो भएकाले मुलुकलाई आवश्यक र राष्ट्रियताको पक्षमा कानुन बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले मुलुकको विकास निर्माण बजेट वक्तव्यले निर्धारण गर्ने हुनाले सरकारले प्रस्तुत गर्ने बजेटका राम्रा योजनाको समर्थन र अनावश्यक योजनाको विरोध गर्ने पार्टीको नीति रहने बताउनुभयो ।
उहाँले नीति निर्माणमार्फत मुलुकलाई खाद्यान्न र उर्जामा आत्मनिर्भर बनाउने, विद्यालय तथा विश्व विद्यालयमा निःशुल्क शिक्षा अनिवार्य गर्ने, नेपालीको संम्पत्ति सिमाकनं गर्ने, विदेशमा सम्पत्ति राख्न नपाउने, नेपाली जनताको स्वास्थ्य उपचार निःशुल्क गर्ने एजेण्डा रहेको जानकारी दिनुभयो ।


“नेपाललाई अमेरिकी उपनिवेश बनाउनबाट बचाउने, सिद्धान्तहिन गठबन्धन गरी सिंहदरवार कब्जा गर्नेलाई खबरदारी गरी देशघाटी एमसिसि, एसपिपि र नागरिता विधेयकका पक्षधरहरुलाई परास्त गर्न नेमकिपाको उम्मेदवारी हो । यही नै एजेण्डा लिएर नेमकिपा र मेरो उम्मेदवारी हो,” उहाँले भन्नुभयो ।
यता सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका सुनिल गोठे र नेकपा एमालेका उम्मेदवारका चुनावी एजेण्डा लगभग उस्तै छन ।
भक्तपुरलाई साँस्कृतिक नगरीको रुपमा विकास गर्ने, युवालाई रोजगारी, पर्यटनको विकास, सडक पुर्वाधारको विकास, खानेपानीको समस्या समाधानलगायतका चुनावी एजेण्डा गोठे र गेलालले उठाएका छन ।
यसका अलावा गोठेले संविधानको रक्षा र नीतिगत परिर्वतनका साथै क्षेत्र नं १ लाई देशको केन्द्रिय राष्ट्रिय बजेटमा पहुँच पु¥याउने प्रमुख एजेण्डा रहेको बताउनुभयो । उहाँले चाँगुनारायण नपामा भौतिक पुर्वाधारको विकास गरी स्थानीय तामाङ्ग र खस आर्य समुदायको पहिचान सहितको वस्ती विकास गर्ने, क्षेत्र नं १ का बिजुलीका काठका खम्बाहरु विस्थापित गर्ने, भक्तपुर नगरभित्र परम्परागत शैलीमा घर बनाउँदा बढी रकम लाग्ने हुनाले त्यसको आधा भाग राज्यले व्यहोर्न लगाउने, भक्तपुरका विभिन्न साँस्कृतिक बाजागाजाको संरक्षणका लागि प्रतिष्ठानको विकास गरी भक्तपुर नगरलाई जीवित संग्राहालयको रुपमा विकास गर्ने मुख्य एजेण्डा रहेको बताउनुभयो ।
नेकपा एमालेका उम्मेदवार नवराज गेलालले केन्द्रिय घोषणापत्रमा भक्तपुर विकास लागि जे राखिएको त्यो अनुसार गर्ने, पर्यटकीय क्षेत्रले परिचित चाँगुनायण नपामा पर्यटक मार्गलाई व्यवस्थीत बनाउने, विदेशी पर्यटकलाई लामो समय भक्तपुर बस्न मिल्ने गरी व्यवस्थित वातावरणको सृजना गर्ने एजेण्डा रहेको बताउनुभयो ।