मध्यपुर थिमि वडा लिग फुटबल रोमाञ्चक मोडमा, उपाधी होड खुल्ला

फाइल तस्विर

भक्तपुर, कार्तिक १
सानो थिमिमा जारी मध्यपुर थिमि वडा लिग फुटबल रोमाञ्चक मोडमा पुगेको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना र मध्यपुर युथ एशोसियसनको संयोजनमा जारी रहेको लिगमा सोमवार वडा नं. ७ पराजित भएपछि लिग रोमाञ्चक मोडमा पुगेको हो । वडा नं. ७ को हारसँगै लिग विजेताको होड खुल्ला भएको छ ।
लिगको सोमवारको खेलमा वडा नं. ८ ले उपाधी दावेदार मानिएको वडा नं. ७ लाई १–० ले पराजित गरे । वडा न ८ का लागि खेलको १० औं मिनेटमा राजु जयनाले गोल गदै आफ्नो टिमलाई अग्रता दिलाए । खेलमा अन्य गोल निस्कन नसकेपछि वडा नं. ८ ले महत्वपूर्ण जितका साथ ३ अंक बटुले । खेलमा वडा न ८ का दिपक बासँ श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।
लिगका ८ चरणका खेल मध्ये छैंटौं चरणको खेल भइरहेको छ । वडा नं. ७ को ६ खेलमा ४ जित, एक हार र एक बराबरीका साथ १३ अंकसहित पहिलो स्थानमा छ भने एक खेल कम खेलेको वडा नं. १ को १२ अंक रहेको छ । वडा नं. १ ले ५ खेलमा चार जित र एक हार व्यहोरेको छ ।
लिगको तेस्रो स्थानमा वडा नं. ५ रहेको छ । उसको ९ अंक रहेको छ । चौंथो स्थानमा रहेको वडा नं. ९ को पनि ५ खेलबाट ९ अंक रहेको छ । वडा नं. ५ र ९ ले ५ खेलमा ३ जित २ बराबरी व्यहोरेको छ ।
वडा नं. ६ को ५ खेलमा २ जित, २ बराबरी र १ हारसहित ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । वडा नं. ८ को ५ खेलमा २ जित, एक बराबरी र २ हारका साथ ७ अंक सहित छैंटो स्थानमा रहेको छ । वडा नं. २ लिगको सातौं स्थानमा रहेको छ । उसले ४ खेल मात्र खेलेको छ । वडा नं. २ ले हालसम्म १ जित, १ बराबरी र २ हारका साथ ४ अंक जोडेको छ ।
वडा नं. ३ ले ५ खेलमा ३ अंक जोड्दै लिगको आठौं स्थानमा रहेको छ । उसले आइतवार पहिलो जित निकालेको हो । वडा नं. ४ लाई पराजित गर्दै लिगमा वडा नं. ३ ले पहिलो अंक बटुलेको हो । उसले ४ खेल गुमाएको छ ।
लिगको अन्तिम स्थानमा रहेको वडा नं. ४ ले ६ खेलको समाप्तीमा कुनै अंक जोड्न सकेको छैन । लगातार हार व्यहोरेको वडा नं. ४ ले हालसम्म २० गोल व्यहोरेको छ भने ३ गोल गरेको छ ।