अध्यक्ष प्रजापतिलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

भक्तपुर, असोज २६
सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिलाई पदबाट नहटाउन परमादेश जारी गरेको छ । अध्यक्ष प्रजापतिले महासंघ केन्द्रीय समिति, अध्यक्ष विपुल पोखरेल, जिल्ला कार्यसमिति र जिल्ला उपाध्यक्ष सुन्दर शिल्पकार विरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्धय ईश्वर प्रसाद खतिवडा र डा. मनोजकुमार शर्माको संयुक्त इजलाशले अन्तिम फैसला गर्दै महासंघविरुद्ध रिट जारी हुने पैmसला गरेको हो ।
महासंघ भक्तपुर शाखाका अध्यक्ष प्रजापतिले गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि १ को वडाअध्यक्ष पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुभएको थियो । प्रजापतिले निर्वाचन कार्यतालिका बमोजिम उम्मेदवारी फिर्ता लिनुभएको थियो ।


महासंघले सोही कारण देखाउँदैं प्रजापति स्वतः पदमुक्त भएको भन्दै गत २०७९ जेठ १५ गते निर्णय गरेको थियो । प्रजापतिले सो निर्णय विरुद्ध परमादेश जारी गरी पद बहालीको माग गर्दै सर्वोच्च अदालतमा गत जेठ २० गते रिट दायर गर्नुभएको थियो ।
प्रजापतिको तर्फबाट अधिवक्ता लिलानाथ घिमिरे, विष्णु गिरी ‘निश्चल’ र दुर्गा कुमारी कोइरालाले बहश गर्नुभएको थियो भने विपक्षी पत्रकार महासंघका तर्फबाट अधिवक्ता भक्तिराम घिमिरे, अरुण पौडेल र देवराज कार्कीले बहश गर्नुभएको थियो ।