संविधानको पूर्ण कार्यान्वयन र संघिय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न उम्मेदवारी – सभापति थापा

भक्तपुर, असोज २४
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आफ्नो उम्मेदवारी संविधानको पूर्ण कार्यान्वयन र संघिय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न रहेको बताउनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएका सभापति थापाले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदैं आफ्नो उम्मेदवारी कसैको विरुद्ध नभई संविधान र लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको बताउनुभएको हो ।
“मेरो उम्मेदवारी कसैको विरोधमा होइन । लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने र संविधानको पूर्ण कार्यान्वयनको लागि हो,” उहाँले भन्नुभयो ।
उहाँले विगतमा भक्तपुरमा विकासका नाममा धेरै भ्रष्टाचार र अराजकता बढेको आरोप लगाउँदैं त्यस्ता तत्वलाई यसपटक जनताले उचित दण्ड दिने बताउनुभयो । उहाँले कांग्रेस र गठबन्धनको पक्षमा जनतामा देखिएको उत्साह नै आफ्नो जितको आधार रहेको बताउनुभयो ।
उहाँले भक्तपुरमा कांग्रेस कहिल्यै पनि कमजोर नभएको दावी गर्दै स्थानीय निर्वाचनको परिणामले पनि प्रमाणित गरेको बताउनुभयो । यसपटक गठबन्धनमा कारण पनि आफ्नो जित सुनिश्चित रहेको थापाले दावी गर्नुभयो ।