सत्ता गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नं. २ मा कांग्रेसका थापा र १ मा माओवादी केन्द्रका बासु

भक्तपुर, असोज २३
सत्ता गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका दुर्लभ थापाले टिकट पाउनु भएको छ । गठबन्धनको भागवण्डामा नेपाली कांग्रेसको भागमा परेको भक्तपुर क्षेत्र नं. २ मा कांग्रेसले जिल्ला सभापति समेत रहनुभएका थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
भक्तपुर कटुञ्जेका थापा विद्यार्थीकालदेखी नेपाल विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकटका थापा जिल्लामा कांग्रेसभित्र लोकप्रिय नेता हुन ।
मध्यपुर थिमि र सूर्यविनायक गरी दुई नगरपालिका रहेको यस क्षेत्रमा मुख्य प्रतिष्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीच रहेको छ । गत स्थानीय निर्वाचनमा मध्यपुर थिमि नगरपालिकामा कांग्रेस नेतृत्वको गठबन्धन विजयी भएको थियो भने सूर्यविनायकमा नेकपा एमाले विजयी भएको थियो ।
स्थानीय तह निर्वाचनको मत अनुसार यहाँ सत्ता गठबन्धन झिनो मतले अगाडि देखिन्छ । यस्तोमा नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको मत निर्णायक हुने देखिन्छ । नेमकिपा गठबन्धन र तालमेलको विपक्षमा रहेकोले यहाँ राप्रपाको मत निर्णायक हुने देखिन्छ । राप्रपाले आफ्नै उम्मेदवार उठाएर मत जोगाउने निर्णय गरे सत्ता गठबन्धन र एमालेबीच यहाँ कडा प्रतिष्पर्धा हुनेछ ।
यस क्षेत्रमा एमालेले पोलिटव्यूरो सदस्य एवम् युवा संघका ईन्चार्ज महेश बस्नेतलाई दोर्याउने निर्णय गरेको छ ।
भक्तपुर क्षेत्र नं. २ मा एउटै दलले दुई पटक लगातार जितेको ईतिहास छैन । यहाँ २०४८ को आम निर्वाचनमा नेपाली कांग्रेसका जगन्नाथ आचार्य विजयी भएका थिए । २०५१ को मध्यावधी निर्वाचनमा नेमकिपाका आशाकाजी बासुकला निर्वाचित भएको यस क्षेत्रमा २०५६ मा कांग्रेसका लेखनाथ न्यौपाने विजयी भएका थिए । त्यस्तै २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेमकिपाका सुनिल प्रजापति निर्वाचित भए भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका रामेश्वर प्रसाद ढुंगेल निर्वाचित भए ।
२०७२ मा संघिय लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ संविधान जारी भएपछि भक्तपुरका प्रतिनिधि सभा निर्वाचन क्षेत्रको भुगोलमा भएको परिवर्तनसँगै भक्तपुर क्षेत्र नं. २ मा मुख्य प्रतिष्पर्धी कांग्रेस र एमाले रहेका छन ।
२०७४ को निर्वाचन भक्तपुर क्षेत्र नं. २ मा पहिलो पटक एमाले विजयी भए । एमालेका महेश बस्नेतले कांग्रेसका हेभिवेट तर आयातित उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई झण्डै दोब्बर मतान्तरले पराजित गरेको थियो । यसपटक पार्टीमा आएको विभाजन र सत्ता गठबन्धनका कारण एमालेलाई यो क्षेत्र त्यति सहज भने देखिँदैन ।
यसैगरी सत्ता गठबन्धनले भक्तपुर क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल गोठे बासुलाई उम्मेदवार बनाउने भएको छ । गठबन्धनको भागवण्डामा माओवादी केन्द्रको भागमा परेको भक्तपुर क्षेत्र नं. १ मा जनयुद्धकालदेखी माओवादी आन्दोलनमा सक्रिय बासुलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।


भक्तपुर क्षेत्र नं. १ नेमकिपाको बलियो पक्कड भएको क्षेत्र हो । यहाँ २०४८ सालदेखी नेमकिपाले एक छत्र जित निकाल्दै आएको छ । भक्तपुरको चाँगुनारायण र भक्तपुर नगरपालिका रहेको यस क्षेत्रमा गत स्थानीय निर्वाचनमा भक्तपुर नगरपालिकामा नेमकिपाले एकलौटी जित हासिल गरेको थियो ।
सो क्षेत्रमा एमालेले जिल्ला समन्वय समितिका पुर्वप्रमुख नवराज गेलाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भक्तपुरका दुई वटै क्षेत्रमा नेमकिपाले कसलाई उम्मेदवारी दिलाउने भन्ने विषय टुंगो लागेको छैन ।
सत्ता गठबन्धनको सिट बाँंडफाँटमा प्रदेश सभा १ क, १ ख, २ क कांग्रेसको भागमा परेको छ भने २ ख एकीकृत समाजवादीको भागमा परेको छ । प्रदेश सभाको उम्मेदवार भने टुंगो लगाएको छैन ।