भक्तपुर, असोज २०
बडादशैंको एघारौं दिन पापाङ्कुशा एकादशीको अवसरमा आज (बिहिवार) मध्यपुर थिमिमा मल्लकालिन युद्धको झल्को दिने गरी खाँ पिहाँवईगु (खाँ निस्कने) जात्रा हुँदैछ । तत्कालिन राजदरवारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवज लगायत मल्लकालिन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध कला प्रदर्शन गर्दै खाँ पिहाँवईगु जात्रा सम्पन्न गरिन्छ ।
दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारहरुले जामा लगाएर खड्ग, ढाल र तरबार हातमा बोकेर तत्कालीन युद्धकला नगरका विभिन्न टोलमा प्रदर्शन गर्दछन ।
तत्कालीन दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा ईनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल)को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थियो ।
जात्रामा दसैंको नवमीमा तलेजु भवानीलाई चढाएको बलि र कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराईन्छ । विशेषगरी यो जात्रामा नायः पःमां (तत्कालीन दरबारका प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष संलग्नता रहन्छ ।
जात्रामा महानवमीको राति तलेजुमा बलि दिइएको खःम्येको (राँगाको) टाउको समेत नगर परिक्रमा गराई प्रदर्शन गरिन्छ । जात्राका अवसरमा बालकुमारी भुईंफसी (कुभिण्डो) मार हानेर बली दिईन्छ । बली दिइएको कुभिन्डो प्रसादकोरुपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेको छ । जात्राको अन्तिममा भुईफसी मार हान्ने भएकाले यसलाई भुईफसी पालेगु जात्रा पनि भनिन्छ । जात्रा अवलोकनका लागि मध्यपुर थिमिका स्थानीयको ठूलो भिड लाग्ने गर्दछ ।