राजर्षि गुरुकुल अन्तर सदन पौडी प्रतियोगितामा ‘रक हाउस’ टिम च्याम्पियन

भक्तपुर, भाद्र २४
भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुल अन्तर सदन पौडी प्रतियोगितामा रक हाउस टिम च्याम्पियन बनेको छ । विद्यार्थीमा रहेको आन्तरिक प्रतिभालाई प्रस्फुटनका लागि आयोजित प्रतियोगितामा रक हाउस २३ पदकसहित टिम च्याम्पियन बनेको हो ।
रक हाउसका विद्यार्थीले ९ स्वर्ण, ८ रजत र ७ काश्य पदकसहित कूल २३ पदक जितेको विद्यालयले जनाएको छ । त्यसैगरी वाटर हाउसले ७ स्वर्ण, ९ रजत र ३ काश्य पदकसहित कूल १९ पदक जित्दै दोस्रो स्थान हासिल गरे ।


सन हाउस ७ स्वर्ण ७ काश्य पदकसहित कूल १४ पदकका साथ तेस्रो भएको प्रतियोगितामा ट्रि हाउस ४ स्वर्ण, १० रजत र ८ काश्य पदकसहित कूल २२ पदकका साथ चौथो भयो । विद्यार्थीले हाउसगत रुपमा पाएको पदक र पदक अनुसारको अंकका आधारमा रक हाउस प्रथम भएको स्कुलले जनाएको छ ।
स्कुलका इसिए इन्चार्ज कमल खड्काले जीवन रक्षाका लागि समेत आवश्यक सीपमध्येमा पर्ने पौडीको सीप सिकाउनका लागि सो प्रतियोगिता गरिएको जानकारी दिँदै सो स्पर्धाले विद्यार्थीहरुमा स्फुर्तिका साथै आत्मविश्वास बढेको बताए । उनले आगामी दिनमा पनि पौडी लगायतका अन्य खेलकुद प्रतियोगितालाई जारी राख्ने बताए ।
विद्यालयका प्रिन्सिपल लियोन श्रेष्ठले राजर्षि गुरुकूलका विद्यार्थीलाई पढाइका साथसाथै खेलकुदप्रति आर्कषण बढाउनका लागि पौडी प्रतियोगिता आयोजना गरिएको बताए ।


विद्यालयका निर्देशक दिनेश भुसालले पौडीका कारण विद्यार्थीमा पुग्ने फाइदाको अनुभूतिलाई प्रत्यक्ष अनुभव गराउन प्रतियोगिता उपयोगी भएको बताए । उनले खेलकुदले विद्यार्थीको मानसिक र शारीरिक क्षमता विकासमा सहयोग पुर्याउने भएकाले राजर्षि गुरुकूलले पढाइ र खेलकुदलाई सँगसँगै लगिरहेको बताए । स्कुलले खेलकुदमा लगानी समेत गरिरहेको उल्लेख गर्दै उनले खेल क्षेत्रबाट पनि देशको नाम उज्ज्वल बनाउन र भविष्य बनाउन सकिने जनाए ।
स्पर्धामा विजयी विद्यार्थीलाई राष्ट्रिय खेलकुद परिषद्का प्रमुख पौडी प्रशिक्षक शंकर कार्की, विद्यालयका संस्थापक राजेश चौधरीलगायतले मेडल, प्रमाण पत्र र ट्रफी वितरण गरेका थिए । उनीहरुले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अनिवार्य बन्दै गएको उल्लेख गर्दै शिक्षाका साथै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि स्कुलहरुले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।