भक्तपुरको प्रदेश सभाको प्रत्यक्षतर्फको चार सिटको लागि नेकपा एमालेका २२ नेताको दावी

भक्तपुर, भाद्र १८
बागमती प्रदेश सभाको प्रत्यक्षतर्फको चार सदस्यका लागि नेकपा एमाले भक्तपुरका २२ नेताले टिकटको दावी गरेका छन । उनीहरुले पार्टी कार्यालयमा उम्मेदवारी दावी गर्दै आशय पत्र दर्ता गराएका हुन ।
टिकटको दावी गर्ने नेताहरुमा भक्तपुर क्षेत्र नं. १ (क) मा शिवराम तिमिल्सिना, मोहनवीर श्रेष्ठ, नवराज गेलाल, निरन्जन बर्जागाई, शम्भु प्रसाद दाहाल, कान्छा तामाङ मुखिया, राम बहादुर श्रेष्ठ, कृष्णराम गेलाल, राम प्रसाद तिमिल्सिना र रामहरि थापा छन । यस क्षेत्रमा चाँगुनारायण नगरपालिकाको पुरै भाग र भक्तपुर नगरपालिकाको वडा नं. १० रहेको छ ।
यस क्षेत्रमा २०७४ को निर्वाचनमा तत्कालिन वाम गठबन्धनका तर्फ उम्मेदवार बन्नुभएका नेकपा एमालेका हरिशरण लामिछाने निर्वाचित हुनुभएको थियो । उहाँको निधनपछि सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल तत्कालिन नेकपाका उम्मेदवार डि पि ढकाललाई पराजित गर्दै विजयी हुनुभएको थियो । भँडेल हाल बागमति प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्री हुनुहुन्छ ।
त्यस्तै भक्तपुर नगरपालिकाको वडा नं. १ देखी ९ सम्मको भाग समेटिएको प्रदेश सभा क्षेत्र नं. १ (ख)को प्रत्यक्ष तर्फको टिकटको लागि सरस्वती बाटी, नारायण सुन्दर सिन्ताकल र विश्वराज शिल्पकारले दावी पेश गर्नुभएको नेकपा एमालेले जनाएको छ । यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीको वर्चश्व रहेको छ ।
सूर्यविनायक नगरपालिकाको १ देखी १० वडा समेटिएको भक्तपुर क्षेत्र नं. २ (क)को प्रदेश सभा सदस्यका लागि नेकपा एमालेका तीन जनाले प्रत्यक्ष तर्फको टिकट दावी गर्दै पार्टी कार्यालयमा आशय पत्र दर्ता गराएका छन । एमालेका अनुसार यस क्षेत्रको टिकटको लागि राजेन्द्र राजथला, शशिजंग थापा र किरण थापाले आशय पत्र दर्ता गराएका हुन । यस क्षेत्रमा २०७४ को निर्वाचनमा शशिजंग निर्वाचित हुनुभएको थियो ।
त्यसैगरी भक्तपुर क्षेत्र नं. २ (ख) प्रदेश सभा सदस्यका लागि ६ जनाले प्रत्यक्षतर्फको टिकट दावी गरेका छन । टिकटको दावी गर्दै पार्टीमा आशय पत्र दर्ता गर्ने नेताहरुमा राष्ट्र सम्शेर थापा, चन्दन कृष्ण श्रेष्ठ, भाष्कर प्रधानाङ्ग, सूर्यलाल श्रेष्ठ, चन्द्रभक्त श्रेष्ठ र तारामान जोशी छन ।
मध्यपुर थिमि नगरपालिकाको वडा नं. १ देखी ९ सम्मको भाग समेटिएको यस क्षेत्रमा २०७४ मा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका राजेन्द्रमान श्रेष्ठ निर्वाचित हुनुभएको थियो । एमालेको विभाजनसँगै श्रेष्ठ नेकपा एकिकृत समाजवादीमा रहनुभएको छ ।