देशलाई आत्मनिर्भर बनाउन सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्छ ः नगरप्रमुख प्रजापति

भक्तपुर, असार २३
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशलाई आत्मनिर्भर बनाउन सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ६ महिने आधारभूत सिलाई, बुटिक र पाक शिक्षा तालिममा सहभागीहरुलाई बिहिवार प्रमाणपत्र वितरण गर्दै नगर प्रमुख प्रजापतिले आर्थिक रुपमा परनिर्भर देश कहिल्यै पनि स्वतन्त्र रुपमा अगाडि बढ्न नसक्ने भएकोले देशलाई आत्मनिर्भर बनाउन सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले सीप नभएको व्यक्ति र पढाई सँगसँगै आफ्नो योग्यताअनुसार रोजगारी नपाएका व्यक्ति सामाजिक र आर्थिक रुपमा पछि पर्ने बताउनुभयो । उहाँले हातमा सीप भएको व्यक्ति जुनसुकै क्षेत्रमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै आधुनिक युगको विकाससँगै प्राविधिक ज्ञानको आवश्यकता पनि बढ्दै गएको भएको बताउनुभयो । उहाँले हातमा सीप नभएको व्यक्ति कुनै पनि क्षेत्रमा काम नलाग्ने हुँदा युवाहरुले समयसापेक्ष तालिमहरु लिएर आफूलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।


सरकारले युवाहरुको योग्यता, क्षमता र अनुभवलाई अवमूल्यन गरेकै कारण स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै लाखौं युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य भएको उहाँले बताउनुभयो ।
महिलाहरु पनि पुरुषसरह सामाजिक र राजनैतिक क्षेत्रमा अगाडि बढ्दै जान सके समाज पनि स्वतःस्फूर्त रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाभित्रका सम्पदाहरु जनसहभागिता र जनश्रमदान पुनःनिर्माण भएकै आज ख्वप मोडल अगाडि बढिरहेको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नपाले युवाहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमहरू सञ्चालन गर्दै आइरहेको बताउँदैं आगामी आ.व. को नीति तथा कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका युवा तथा व्यवसायीहरुको लागि उद्यमशीलता कोषको व्यवस्था गरेको जानकारी दिनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बेरोजगारीको समस्या समाधान गर्न तालिमको आवश्यकता अपरिहार्य रहेको बताउँदैं आत्मनिर्भरता र आत्मसम्मानको लागि पनि तालिमको महत्व धेरै रहेको बताउनुभयो ।
भक्तपुर नपाका कार्यपालिका सदस्य रोशनमैंया सुवाल सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य छोरीमैंया सुजखु, वडा सदस्य सुमित्रा बोहजू, प्रशिक्षार्थीका तर्फबाट प्रमिला लघु र प्रशिक्षकका तर्फबाट धर्मलक्ष्मी लघुले तालिमको महत्वबारे आ–आफ्नो धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाले गत २०७८ पुस १ गतेदेखी सञ्चालन गरेको ६ महिने तालिम मध्ये आधारभूत सिलाईमा २३, बुटिकमा २० र पाक शिक्षा तालिममा ११ जना गरी ५४ जना सहभागी थिए ।