सिंहध्वाका दरबार मल्लकालिन शैलीमा पुनःनिर्माण गर्न पहल

भक्तपुर, असार २२
भक्तपुर दरवारस्क्वायरमा अवस्थित सिंहध्वाखा दरवार (राष्ट्रिय कला संग्रहालय रहेको लाल बैठकसहितको) भवन मल्लकालीन शैलीमै पुनःनिर्माण गर्न पहल थालिएको छ । वि. सं. २०७२ सालको भूकम्पले क्षतिग्रष्ट उक्त भवन कुन शैलीमा पुनःनिर्माण गर्ने भन्ने विवादका कारण हालसम्म पुनःनिर्माण हुन सकेको छैन ।
पुरातत्व विभाग हालकै शैलीमा पुनःनिर्माण गर्न चाहन्छ भने भक्तपुर नगरपालिका यसको ऐतिहासिक प्रमाणका आधारमा मल्लकालिन शैलीमा पुनःनिर्माण हुनुपर्ने अडानमा छ । यसै सन्दर्भमा भक्तपुर नगरपालिकाले पुरातत्व विभागलाई लिखितरुपमै प्राप्त पुराना प्रमाणहरुको आधारमा मल्लकालिन शैलीमा सिंहध्वाखा दरबार पुनःनिर्माण गर्न अनुरोध गरेको छ ।
नगरप्रमुख सुनिल प्रजापतिले बुधवार पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमलाई भेटगरी विश्व सम्पदा सूचीमा सूचीकृत पचपन्न झ्याल दरबारसँगै जोडिएको सिंहध्वाखा दरबारको मल्लकालिन शैलीमा पुनःनिर्माण गर्न लिखित आग्रह गर्नुभएको हो ।
उहाँले उक्त दरबारको पुनःनिर्माण हालसम्म पनि अगाडि नबढ्दा भक्तपुर दरबार क्षेत्र नै अशोभनीय र जोखिमपूर्ण देखिएको हुँदा उक्त दरबार पुनःनिर्माण कार्य छिटोभन्दा छिटो अगाडि बढाउन आवश्यक भएको बताउनुभयो ।
महानिर्देशक दामोदर गौतमले सिंहध्वाखा दरबार मल्लकालीन शैलीमा नै पुनःनिर्माण गर्न युनेस्को प्रधान कार्यालय पेरिसबाट हालसम्म अनुमति प्राप्त नहुँदा उक्त पुनःनिर्माण कार्य अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले सिंहध्वाखा दरबार मल्लकालिन शैलीमा पुनःनिर्माण प्रक्रिया अगाडि बढाउन भक्तपुर नगरपालिका, पुरातत्व विभाग र युनेस्कोबीच थप छलफलको आवश्यकता रहेको औंल्याउनुभयो ।
सोही अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपा वडा नं. ७ बाट चोरी भएको वीरभद्रेश्वर मन्दिर भित्रको पार्वतीको मूर्ति शीघ्र यथास्थानमा स्थापना गर्न फिर्ता पठाउन पनि आग्रह गर्नुभयो । भक्तपुर नपाले यस अघि नै उक्त मूर्ति फिर्ता गर्न पत्र पठाई पहल गरेको थियो ।