मध्यपुर थिमि नगरपालिकाको बजेट सवसम्मतले पारित

भक्तपुर, असार २१
मध्यपुर थिमि नगरपालिकाको सोमवार बसेको छैंटौ नगरसभाको दोस्रो बैठकले आर्थिक वर्ष २०७९÷८० को लागि विनियोजित बजेट सर्वसम्मतले पारित गरेको छ । बैठकले आ. व. २०७९÷८० को लागि नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले प्रस्तुत गर्नुभएको ३ अर्ब १५ करोड १० लाख रुपैंयाको बजेट छलफलपछि सर्वसम्मत पारित गरेको हो ।
मध्यपुर थिमि नगरपालिकाको वार्षिक बजेटमा नगरपालिकाद्धारा सञ्चालित कमेरोटार जग्गा एकिकरण आयोजनाको ६० करोड ८७ लाख ६२ हजार र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालतर्फ ५७ करोड ३७ लाख ४६ हजार रुपैंया समेत समावेश गरिएको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।
यसैगरी नगरसभाले विभिन्न चार वटा ऐन समेत सर्वसम्मतले पारित गरेको नगर प्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यले बताउनुभयो । नगरसभाले सुखी र समृद्ध मध्यपुर थिमि बनाउने अठोटका साथ शिक्षा ऐन – २०७९, स्वास्थ्य ऐन–२०७९, सहकारी ऐन – २०७९ र विपद्जोखिम न्युनिकरण व्यवस्थापन ऐन – २०७९ सर्वसम्मतले पारित गरेको प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।


बैठकमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम सर्वसम्मतले पारित गरेर नगरसभालाई ऐतिहासिक बनाउन भूमिका खेल्ने सबै नगरसभा सदस्यहरुलाई धन्यवाद दिँदैं नगरपालिकाको विकासमा सबै राजनीतिक दलहरुसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मध्यपुर थिमि नगरपालिकामा २०७४ सालको स्थानीय निर्वाचनपछि पहिलो पटक सोहार्दपूर्ण र विधिपूर्वक नगरसभा बैठक सञ्चालन भई नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित भएको हो । विगतका वर्षमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु दुई समूहमा विभाजन हुने, नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख मदनसुन्दर श्रेष्ठले कांग्रेसका दुई समूह मध्ये आफु अनुकुलको समूहसँग सहकार्य गर्दा नगरसभा सधैं विवादित हुने गरेको थियो । त्यसैगरी नगरसभामा तत्कालिन उपप्रमुख अञ्जनादेवी मधिकर्मी नेतृत्वको समूहले नगरसभा बहिष्कार गर्ने र नगरसभामा बहुमत पुर्याउन नगरसभा सदस्यहरुको घरघरमा गएर माईन्युटमा दस्तखत गराउने, दलका नेताहरु बसेर नगरसभाका एजेण्डामा सहमती गरी नगरसभालाई औपचारिकता मात्र दिने प्रवृत्ति रहेको थियो ।