वर्षाकाबीच सूर्यविनायकमा गठबन्धनको चुनावी सभा सम्पन्न

भक्तपुर, बैशाख २४
भक्तपुर । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आज सूर्यविनायक नगरपालिकामा नगर स्तरीय वृहत चुनावी सभा आयोजना गरेको छ । वैशाख ३० गते हुन गइरहेको स्थानिय चुनावालाई ध्यानमा राखेर आयोजना गरिएको सभामा ठूलो संख्यामा मतदाताहरु सहभागिता बनेका थिए ।
अपराह्न परेको ठूलो वर्षाका बीचपनि ठूलो जनसमुदाय घरका पेटी, पसल, र चौतारा मुनि ओत लागेर भएपनि नेता, उम्मेदबारहरुको सम्बोधन सुनिरहेको देखिन्थ्यो ।
मौसम प्रतिकूलताकै कारण चुनावी सभामा प्रमुख अतिथिको रुपमा सहभागि हुने निश्चित गरिएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सहभागि हुन सक्नुभएन । शर्माले भौतिक रुपमा सहभागि हुन नसकेपनि मन सूर्यविनायकका मतदाताको साथमा रहेको उल्लेख गर्दे सन्देश पठाउनु भएको थियो ।
चुनावी सभामा भाग लिन सूर्यविनायक नगरका १० वटा वडाबाट उम्मेदबारहरु सहितका जुलुश चक्रपाणी चोकमा आएको थियो । चुनावी सभामा नगर प्रमुख पदका उम्मेदवार नेपाली काग्रेसका निशान ढुंगेल, नगर उपप्रमुखका उम्मेदवार नेकपा (एकिकृत समाजवादी) श्यामसुन्दर बस्नेत, १० वटै वडाका वडा अध्यक्ष सहित महिला, महिला दलित तथा वडा सदस्यहरुलाई टिका, माला र खाँदा लगाएर स्वागत गरिएको थियो ।
चुनावी सभामा नेपाली काग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, काग्रेस केन्द्रीय सदस्य रमा पौडेल, नेकपा (एकिकृत समाजवादी) का स्यायी कमिटी सदस्य एवं बागमति प्रदेश इन्चार्ज सावित्रा भुषाल, नेपाली काग्रेसका नेता सुरेन्द केसी, काग्रेस क्षेत्रीय सभापति भेष बहादुर कार्की, सूर्यविनायक नगर पालिकाको नगरप्रमुख पदका उम्मेदवार निशान ढुंगेल, उपप्रमुख पदका उम्मेदवार एकिकृत समाजवादीका श्यामसुन्दर बस्नेत, सूर्यविनायक नगरपालिका चुनाव परिचालन समितिका सह संयोजक श्रीकृष्ण बासु लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक एवं नेपाली कांंग्रेस महाधिवेशन प्रतिनिधि विष्णुराज कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वक्ताहरुले गठबन्धनका उम्मेदवार विजयी भए सूर्यविनायकमा सुशासन दिने र विकास निर्माणको गतिलाई तिव्ररुपमा बृद्धि गर्ने, सरसफाईर खानेपानीको क्षेत्रमा उल्लेख्य कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।