सुर्यविनायक नगरपालिकाका मतदातामा व्यापक उत्साह

भक्तपुर, बैशाख २२
सूर्यविनायक नगरपालिकाका वडामा चुनावी प्रचारप्रसार र घरदैंलो कार्यक्रममा जुटेको नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन आफ्नो पक्षमा जनमत बटुलिएको निचोडमा पुगेको छ । घरदैंलो कार्यक्रममा नागरिकहरु उत्साहजनरुपमा सहभागि भएको र कांग्रेस नेतृत्वको पक्षमा मतदान गर्न प्रतिक्षारत रहेको आंकलन उम्मेदवारहरुले गरेका छन् ।
सूर्यविनायक नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार निशान ढुंगेलले नागरिक समाजका सबैखाले मतदाता उत्साहकजनक रुपमा चुनावी प्रचारप्रसामा घरदैंंलो कार्यक्रममा सहभागी भई नेपाली कांग्रेसको पक्षमा जनमत बढिरहेको बताउनुभयो ।
“पार्टीका नेता, कार्यकर्ता, कांग्रेस र गठबन्धनमा आवद्ध दलका समर्थक अरु पार्टीमा नलागेका ठूलो संख्याका मतदाता कांग्रेस नेतृत्वको पक्षमा रहेका छन्” ढुंगेल भन्नुभयो“ हाम्रो पक्षमा मतदाता बढ्दै छन्, निर्वाचनको परिणाम हाम्रो पक्षमा आउँछ ।”
एमाले नेतृत्वको स्थानिय सरकारको समयमा नगरमा भष्ट्रचार मौंलाएको, आफ्ना कार्यकर्तालाईमात्र फाइदा हुने काम गरेकोले एमाले प्रति एमाले पार्टीकै मतदातामा निरासा छाएको पाएको बताउँदै ढुंगेलले भन्नुभयो “एमाले पार्टी विभाजन तथा उनीहरुले स्थानिय तहमा रहँदा गरेका भष्ट्रचारबाट आजितहरु कांग्रेसको पक्षमा आएका हुन ।”
कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट उपप्रमु्ख पदको उम्मेदवार नेकपा( एकिकृत समाजवादी)का श्यामसुन्दर बस्नेत घरदैंलो कार्यक्रम एकदमै उत्साहजनक रहेको बताउनुभयो । “हामीलाई जिताउन जनता आतुर छन् । मतदाताले बाटो, पानी, ढल जस्ता विकासका कामको माग गर्नुभएको छ, हामी जनताका त्यस्ता माग पुरा गर्न तयार छौं।” बस्नेत भन्नुभयो, “हिजोका प्रतिनिधिहरुले सपनामात्र देखाए, पुरा गरेनन्, हामी सपना देखाउँदैनौं, काम गरेर देखाउँछौं ।”
“विकासका नाममा एउटै बाटोमा कतै १३ फिट, कतै ११ फिट र कतै ३ फिटमात्र चौडा सडक बनाइएको छ, यस्ता जथाभावी कामलाई विकास भन्न मिल्दैन, विगतमा आफ्ना कार्यकर्तालाई ठेकेदार बनाएर पैसा वाडने काम भएका छन्, हामीबाट त्यस्तो हुँदैन” बस्नेतले भन्नुभयो ।
एमाले पार्टी विभाजित भएको अवस्थामा भएपनि आफूलाई पार्टीका नेता, कार्यकर्ताले विश्वास गर्ने बताउँर्दै बस्नेत भन्नुहुन्छ “मलाई कम्यूनिष्टहरुको सेवक, कार्यकर्ताको सहयोगी भनेर चिन्दछन्, एमाले पार्टीको कार्यशैली र नेताबाट आजित ठूलो संख्याका मतदाताले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने विश्वास छ ।”
नेपाली कांग्रेसका महाधिवेशन सदस्य तथा कांग्रेस सूर्यविनायक नगरका चुनाव परिचालन समितिका संयोजक विष्णुराज कार्कीले विगतको चुनावको तुलनामा जनतामा निकै उत्साह देखिएको बताउनुभयो । जनता भष्ट्रचारको विपक्षमा छन्, राजनीतिक आडमा हुने भष्ट्राचार र कमिशन खोरीबाट जनता मुक्त हुन चाहन्छन् । जनताका जनप्रतिनिधिहरु जनताका सेवक हुन्, शासक होइन भन्ने मान्यता जनस्तरमा छ, त्यसै कारण मतदाता हाम्रो पक्षमा छन् संयोजक कार्कीले भन्नुभयो ।
कांग्रेस सूर्यविनायक नगर समितिका युवा परिचालन संयोजक सुभाष कार्कीले चु्नावलाई ध्यानमा राखेर कांग्रेस र नेकपा(एकिकृत समाजवादी) का २० जना युवाहरुको नगर स्तरीय समिति गठन भएको बताउनुभयो ।
हाल सुर्यविनायक नगरका १० वटै वडामा प्रचार, प्रचार र उम्मेदवारहरुको घरदैलो कार्यक्रम संचालन भइरहेको छ ।