कलाकार जयनन्द लामा मृत अवस्थामा फेला

भक्तपुर, फागुन ११
हास्ँय कलाकार जयनन्द लामा मृत अवस्थामा फेला परेको छ । ६६ वर्षिय लामा बुधवार बिहान आफ्नै घरको कम्पाउण्ड गेट अघि गाडीमा मृत अवस्थामा फेला परेको हो ।
लामा मंगलवार साँझ सात बजे काठमाण्डौं बौद्धमा बैठक छ भनी घरबाट बाहिर निस्केका थिए । राती घर फर्केका लामा आफ्नै बा ३ च ७७४१ नं. को मारुती सुजुकी कारमा मृत अवस्थामा फेला परेको महानगरिय प्रहरी परिसर भक्तपुरले जानकारी दिनुभयो ।
लामा बाँया खुट्टा कारमा अल्झिएको र शरीर घोप्टो परेर भुईमा ठोक्किएर चोट लागी रगत बगेको अवस्थामा फेला परेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
लामा राती करिव साढे एक बजे घर आईपुगेको र कारबाट ओर्लने क्रममा अनियन्त्रित भई लडेर भुईमा टाउको ठोक्किनाले मृत्यु भएको जस्तो देखिन्छ, प्रनाउ पाण्डेले भन्नुभयोे । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । लामाको शव पोष्टमार्तमका लागि पठाएको र रिपोर्ट आएपछि घटनाको बारेमा थप जानकारी प्राप्त हुने उहाँले बताउनुभयो ।
लोकसंगितकर्मी समेत रहेका लामाले कलकते काईंयोलगायतका सयौं लोकप्रिय गितमा स्वर दिएका छन । उनी पछिल्लो समय विभिन्न हाँस्य टेलिश्रृंखलाहरुमा अभिनय गर्दै आएका थिए । केही समय यता उनी हल्का रमाईलो टेलिश्रृंखलामा दोर्जे दाईको भूमिका थिए । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–२ धार्पाका लामाले दर्जनौं नेपाली चलचित्रमा समेत अभिनय गरेका छन् । लामाका दुई छोरा र श्रीमती छन् ।