नेपाल समूह विजेता बन्दै आइसिसी टि–२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश

भक्तपुर, फागुन ९
आइसिसी टि–२० विश्वकप छनोटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै नेपाल विश्वकपमा छनोटको नजिक पुगेको छ । ओमानमा जारी छनोट ए को समूह बि मा रहेको नेपालले सोमवार क्यानाडालाई ८ विकेटले हराउँदैं नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।
सेमिफाइनलमा नेपालको भेट युएईसँग हुनेछ । युएई समूह ए को उपविजेता हुँदैं सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा युएईलाई पराजित गर्न सके नेपाल सन् २०१४ पछि पहिलो पटक अष्ट्रेलियामा हुने आइसिसी टि–२० विश्वकपमा प्रवेश गर्नेछ । सेमिफाइनल खेल मंगलवार हुनेछ ।
ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा सम्पन्न समूह चरणको अन्तिम खेलमा जित्नै पर्ने दवाबमा रहेको क्यानडाले टस जितेर पहिले व्याटिङ राजे । नेपालले उत्कृष्ट बलिङ नमूना पेश गरेपछि क्यानडा १५ ओभरमा ८० रनमा अल आउट भएको थियो ।
क्यानडाका लागि १० औं नम्बरमा व्याटिङका लागि पिचमा आएका डिलन हेलिगरले सर्वाधिक २८ रन बनाए । उनी २२ बलमा १ चौका र २ छक्कासहित २४ रनमा अविजित रहे । कप्तान नवनित धालिवाल १८ रन बनाए ।


उत्कृष्ट शुरुवात गर्दै ४.२ ओभरमा ३५–१ को अवस्थामा रहेको क्यानडालाई धराशायी बनाउन नेपाली बलरहरुले एक पछि अर्को सफलता हात पारे । क्यानाडाले १३ रन जोड्दा ८ विकेट गुमाएपछि १०.१ ओभरमा ४८–९ को दयनिय अवस्थामा पुगेको थियो । अन्तिम विकेटका लागि डिलन र सलमान नजारले ३२ रनको साझेदारी गरेपछि क्यानाडाको स्कोर हेर्नलायक बनेको थियो ।
नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर कमलसिंह ऐरी दिलाए । उनले पहिलो ओभरको पाँचौं बलमा ओपनर म्याथ्यू स्पोर्सलाई फाइनल लेगमा कुशल भुर्तेलबाट शून्यमा क्याच गराए । त्यसपछि धालिवाल र रयान खान पठानले क्यानडालाई राम्रो सुरुवात दिलाएका थिए । कमलले पाँचौं ओभरको तेस्रो बलमा क्यानडाका प्रमुख ब्याटर धालिवाललाई लोकेश बमबाट १८ रनमा क्याच गराएर पेभेलिएनको बाटो देखाए ।
त्यसपछि क्यानडाको विकेट लगातार पतन हुन थाल्यो । छैटौैं ओभरको दोस्रो बलमा ओपनर रयान खान पठान ११ बलमा १ चौका र १ छक्कासहित १४ रनमा रन आउट भए । उनलाई कमलसिंह र अभिनाश बोहराले रन आउट गरेका थिए । सोही ओभरको अन्तिम बलमा रविन्द्रपाल सिंह एक रनमा आसिफ शेखबाट क्याच आउट भए । अर्को ओभरमा सन्दीपले हम्जा तारिकलाई १ रनमा एलबीडब्लू आउट गर्दा क्यानडा ४१–५ को संकट अवस्थामा पुगे । त्यसपछि साद विन जाफर २ रनमा रन आउट भए । तल्लोक्रमका कलिम सना १, जुनैद सिद्दिक २, हम्जा तारिक १ रनमा आउट भएपछि क्यानडा ४८–९ को अवस्थामा पुगेको थियो ।
नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लको नाममा १ विकेट रह्यो ।
८१ रनको विजयी लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपाललाई जित दिलाउन ओपनर कुशल भुर्तेल ३७ बलमा ३ चौकासहित ३४ रन र दीपेन्द्रसिंह ऐरी ३१ बलमा ३ चौकासहित २७ रनको योगदान दिए । उनीहरु दुवै जना अविजित रहे । ओपनर आसिफ शेख १६ बलमा १ चौका र १ छक्कासहित १७ रनमा आउट भए । कुशल मल्ल गोन्डेन डक आउट भए ।
नेपालले यसअघि समूहको पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो ।