पुरातात्विक महत्वका सामग्रीहरू चोरीमा संलग्न दुई जना पक्राउ

भक्तपुर, माघ ६
केशर पुस्तकालयबाट पुरातात्विक महत्वका सामग्री चोरी गर्ने दुई जनालाई महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले बुधवार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ तुलसीपुर उपमहानगरपालिका ३ घर भई हाल काठमाण्डौं बसुन्धरा बस्ने १८ वर्षिय सुमन शर्मा र रुकुम पश्चिम मुसिकोट नगरपालिका ११ घर भई हाल काठमाण्डौं केशरमहल बस्ने ३६ वर्षिय विर बहादुर सुनार छन ।
प्रहरीले रातो कलेजी रङको दाप भएको लम्बाई ९३ से.मी. र चौडाई ३ से.मी. भएको सेतो कालो रङको धातुको बिड भएको तरवार एक थान, लम्बाई ९८ से.मी. र चौडाई ४ से.मी. भएको सेतो हड्डीको जस्तो बिड भएको तरवार एक थान, टुप्पोदेखी गर्धनसम्मको लम्बाई ३८ से.मी., गोलाई ६७ से.मी. र तौल अन्दाजी ३ किलोको बाघको टाउको जस्तो देखिने वस्तु एक थान, मोवाइल २ थान, बा ४२ प २६९४ नम्बरको स्कुटर एक थान बरामद गरिएको महाशाखाका सूचना अधिकृत प्रहरी उपरिक्षक (एसपी) कृष्ण प्रसाद पंगेनीले जानकारी दिनुभयो । प्रहरीले ती सामग्री केशरमहलको कम्पाउण्डभित्र बोरामा हाली बेवारिसे अवस्थामा राखिएको अवस्थामा फेला पारेको एसपी पंगेनीले बताउनुभयो ।


वि. सं. २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भई प्रबलिकरणको कार्य भइरहेको केशरमहलभित्र रहेको केशर पुस्तकालयको ठुलो कोठाभित्र सङ्कलन गरी राखिएको पुरातात्विक महत्वको सामग्री चोरी भएको सूचना आएपछि महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानका क्रममा उक्त चोरी कार्यमा गणेश श्रीपाली भन्ने गणेश बिश्वकर्मा, दिपेन्द्र भन्ने देबेन्द्र के.सी., सुमन शर्मा र बिर बहादुर सुनार समेतको संलग्नता रहेको खुल्न आएको एसपी पंगेनीले बताउनुभयो ।
अनुसन्धानको क्रममा सुमन शर्माले ८÷१० दिन अगाडि गणेश श्रीपालीले मेरो सामान र स्कुटर केशरमहलमा राखेको छु, लिएर आउनु भनी पठाएकाले म केशरमहलमा गई बा ४२ प २६९४ नं. को स्कुटर र उक्त स्कुटरमा राखेको सामानहरू लिएर आउने क्रममा गार्डले के सामान लिएर आएको भनी सोधेकोले सो स्कुटर र सामान केशरमहलको कम्पाउण्डमा राखी फरार भएको भनी बताएको एसपी पंगेनीले जानकारी दिनुभयो ।