माल्दिभ्समा भारत विरोधी अभियान चर्कँदैं

भक्तपुर, पुस ९
माल्दिभ्समा भारत विरोधी अभियान चर्कँदैं गएको छ । त्यहाँका पूर्वराष्ट्रपति अब्दुल्लाह यामीनले नेतृत्व गरेको भारत विरोधी ‘इण्डिया आउट’ अर्थात ‘भारत फर्की’ अभियानमा स्थानीय सर्वसाधारणको सहभागिता बढेसँगै माल्दिभ्समा भारत विरोधी अभियान चर्कन थालेको हो । माल्दिभ्समा भारत विरोधी अभियान चर्कन थालेसँगै गत डिसेम्बर १९ मा त्यहाँको विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै चिन्ता व्यक्त गरेको थियो ।
इण्डिया आउट अभियानमा विशेषगरी माल्दिभ्सबाट भारतीय सैनिक र उपकरण हटाउनु पर्ने माग भइरहेको छ । यो अभियानको शुरूवात सन् २०१८ मै भएको थियो । त्यसबेला तत्कालीन राष्ट्रपति यामीनले भारतलाई उसका दुईवटा हेलिकप्टर र एउटा डार्नियर विमान फिर्ता लैजान आग्रह गरेका थिए । ती हेलिकप्टर र विमान माल्दिभ्समा खोजी तथा उद्धार कार्यमा प्रयोग भइरहेका थिए । त्यतिबेला भारतले ती हेलिकप्टर र विमान फिर्ता नलगे त्यसका पाइलट भारतका नभई माल्दिभ्सको हुनुपर्ने तर्क गरेका थिए ।


गत डिसेम्बर ५ मा आइल्यान्ड उड्डयन सेवा लिमिटेडका पूर्वनिर्देशक मोहम्म आमीनले ट्वीट गरेः “भारतसँग एउटा डार्नियर लिनु कुनै समस्या होइन, तर हामी डार्नियरसँगै भारतीय सैनिकको तैनाथीको विरोधमा छौं । त्यसलाई उडाउन हामीसँग पर्याप्त अनुभव छ । ती हेलिकप्टरको दर्ता परिवर्तन गर्न पाउने विकल्प हुनुपर्छ। त्यसलाई फिर्ता गर्न पाउने अधिकार पनि हामीसँग हुनुपर्छ ।” यो विषयलाई लिएर त्यहाँका मानिसहरु सडकमा निस्के ।
भारतीय सैनिकहरू माल्दिभ्सबाट फर्कनुपर्ने प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स पीपीएम र उसँग जोडिएका दलहरूको माग रहेको छ । माल्दिभ्सका सांसद अहमद शियामले भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवको पत्रकार सम्मेलनको एउटा भिडिओबारे डिसेम्बर १९ मा ट्वीट गर्दै भन्नुभयो, “भारतको वर्तमान सरकारबाट हामी यो अपेक्षा कहिल्यै गर्न सक्दैनौँ कि उसले हाम्रो संविधान र आन्तरिक मामिलाको सम्मान गर्नेछ । किनभने उसले आफ्नै कानुन र नागरिकको सम्मान गर्दैन । खासगरी अल्पसंख्यकहरूको । हामी हाम्रो स्वतन्त्रता गुमाउन चाहन्नौँ ।”
माल्दिभ्सका पूर्वमन्त्री लुबना जाहिर ट्वीट गर्दै लेख्छ न, “म भारतीय व्यञ्जन, उत्पादन र औषधि निकै मन पराउँछु, तर आफ्नो भूमिमा भारतीय सैनिकलाई हैन ।” अर्का पूर्वमन्त्री अहमद तौफिक लेख्छन, “माल्दिभ्सका जनताले भारतीय सैनिकप्रति आफ्नो आक्रोश पोखिरहेका छन् ।”
सोही विषयमा गत सेप्टेम्बरमा माल्दिभ्सको सत्तारूढ दल माल्दिभ्स डेमोक्र्याटिक पार्टीको एउटा समूहले पनि मोटरसाइकल ¥याली निकालेको थियो ।
सन् २०१८ मा माल्दिभ्सका राष्ट्रपतिमा इब्राहिम सोलिह निर्वाचित भएयता देशको नीति भारतको पक्षमा रहिआएको बताइन्छ । सोलिहको नीति ‘इन्डिया फस्ट’ अर्थात् ‘पहिला भारत’ रहिआए पनि भारतले ‘इन्डिया ओनली’ अर्थात् ‘भारत मात्रै’ हुनुपर्नेमा दबाव दिँदै आएको छ ।
भारतका लागि माल्दिभ्स महत्वपूर्ण छिमेकी हो । भारतीय मुख्य भूभागदेखि माल्दिभ्स १,२०० किलोमिटर टाढा पर्छ । प्रतिकूल अवस्थामा माल्दिभ्सबाट भारतमाथि निगरानी गर्न चीनलाई सहज हुने विश्लेषकहरू बताउँछन् ।