कुटपिट गरी श्रीमतिको हत्या, श्रीमान पक्राउ

भक्तपुर, पुस ५
भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे तज टोलमा डेरा गरी बस्ने एक पुरुषले कुटपिट गरी श्रीमतिको हत्या गरेका छन । भोजपुर केराबारी घरभई हाल कटुञ्जेस्थित तज टोलमा डेरा गरी बस्ने २८ वर्षिय जीवन राईले आइतवार राती २५ वर्षिय श्रीमति मन्दिरा राईलाई कुटपिट गरी हत्या गरेको हो ।
हत्या पछि फरार भएका जीवनलाई प्रहरीले सोमवार बिहान नियन्त्रणमा लिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
एक फोहोर उठाउने सफाई केन्द्रमा कार्यरत राई दम्पत्ति आइतवार साँझ मदिरा सेवन गरी झगडा गरेको अनुसन्धानमा खुल्न आएको प्रनाउ पाण्डेले बताउनुभयो । झगडा गर्नेक्रममा जीवनको कुटाईबाट घाईते भएका मन्दिरा बिहान मृत अवस्थामा फेला परेको हो । श्रीमतिको मृत्यु पश्चात फरार रहेका जीवनलाई घटनास्थल नजिकै आफन्तको बसिरहेको अवस्थामा लोकेसन ट्रयाक गरी पक्राउ गरिएको प्रनाउ पाण्डेले बताउनुभयो ।
राई दम्पत्तिका ७ वर्षिय छोरा रहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्तमका लागि पठाएको छ । नियन्त्रणमा लिएका जीवनमाथि थप अनुसन्धान भइरहेको प्रनाउ पाण्डेले बताउनुभयो ।