मेत्ता फेलिसिटेसन र परियत्ति पुरस्कार वितरण

सुनीता तुलाधर, ललितपुर, पुस ३

मेत्ता भोलियन्टियरले परियत्ति शिक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण एवं मेत्ता भोलिन्टियर अफ डि एअर युवराज जिम्बालाई सम्मान गरेको छ । ललितपुरको थेचोस्थित सेन्टपल स्कूलमा शनिवार आयोजित कार्यक्रममा नेपाल बाैद्ध परियत्ति शिक्षाका केन्द्रीय केन्द्राध्यक्ष भिक्षु बोधिज्ञान महास्थविर र नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले संयुक्त रुपमा सम्मान तथा पुरस्कार वितरण गर्नुभएको हो ।

कार्यक्रममा कोभिडबाट प्रभावित भएकाहरुलाई सहयोग गर्नुहुने विभिन्न संस्था तथा व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो ।

 

सो अवसरमा राजदूत अरुणातिलकाले युवा मेत्ता भोलिन्टियरको संख्या उल्लेखनीय भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले कोभिड र ७२ सालको महाभूकम्पमा मेत्ता भोलिन्टियरहरुबाट गरिएको सहयोगलाई प्रशंसा पनि गर्नुभयो ।
उहाँले ‘समय नै धन हो’ कुरा बुझेर युवा भोलिन्टियरहरुले आफ्नो अमूल्य समयहरु दुःखीहरुको सेवामा लगाई उनीहरुका मुहारमा मुस्कान ल्याउने कार्यहरुले भगवान बुद्धको दान पारमिताको अभ्यास भइरहेकोमा खुशी व्यक्त गर्नुभयो ।

भिक्षु बोधिज्ञान महास्थविरले दिनरात, घामपानी, नजिक–टाढा नभनी, बुद्ध धर्मका गतिविधिहरु कथिन उत्सव, परियत्ति शिक्षा सम्बन्धि कार्यक्रमहरुमा मेत्ता भोलिन्टियरले गरिरहेका कार्यहरु प्रशंसानीय भएको र आउँदा दिनहरुमा यस्तै कार्यको कामना गर्नुभयो ।

मेत्ता भोलिन्टियरका अध्यक्ष गौतम महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथिहरूका साथै भोलिन्टियरहरुले भोलिन्टियरिंगको क्रममा विभिन्न स्थानमा जाँदाका रमाइला, घटलाग्दा, रोमान्चक अनुभवहरु सुनाउनुभएको थियो ।