बालकोटका युवकको हत्या गर्ने आरोपी सार्वजनिक, घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने पिडित पक्षको माग

भक्तपुर, मंसिर २३
महानगरिय प्रहरी परिसर भक्तपुरले सूर्यविनायक नगरपालिका–३ बालकोटका स्थानीय युवक राजु भन्ने राजन श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई बिहिवार सार्वजनिक गरेको छ ।
प्रहरीले सार्वजनिक गरेका दुई आरोपीहरुमा सूर्यविनायक नगरपालिका–३, वडा कार्यालय नजिकै बस्ने २८ वर्षिय हेमन्त श्रेष्ठ र मोरङ लेटाङ् घर भई हाल सूर्यविनायक नगरपालिका–२, बालकोट बस्ने ३० वर्षिय प्रेम विश्वकर्मा रहेका छन ।
घटनाको अनुसन्धानको क्रममा हेमन्तलाई बुधवार बिहान पौने ६ बजे मध्यपुर थिमि ४ शंखधरचोकस्थित मध्यपुर अस्पताल नजिकबाट र प्रेमलाई बुधवार बिहान पौने १० बजे काठमाण्डौं जोरपाटीबाट पक्राउ गरिएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
हेमन्त र प्रेमले राजनलाई मंगलवार राती पौने १० बजेको हाराहारीमा सूर्यविनायक नगरपालिका–२, बोलकोट बसिटोलस्थित हनुमन्ते खोला नजिकै बालकोट खरिबोटदेखी हनुमन्ते खोला फलामे पुलतर्फ जाने बाटो मुनी खाली जग्गामा कुटपिट गरी हत्या गरेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो । घटनामा हेमन्त मुख्य योजनाकार र प्रेम योजना अनुसार राजनलाई प्रहार गर्ने भूमिकामा देखिएको प्रनाउ पाण्डेले बताउनुभयो ।
प्राप्त सूचना अनुसार हेमन्त र राजन एकै स्थानका मिल्ने साथी हुन । सानैदेखी सँगै खेल्दै हुर्केका दुई साथीबीच केही समयअघिदेखी आर्थीक लेनदेनको कारोवार हुँदै आएको थियो । यसैक्रममा राजनले हेमन्तलाई दिएको सापटी रकम फिर्ता गर्ने विषयमा यी दुई साथीबीच केही दिनदेखी विवाद र मनमुटाव हुँदै आएको थियो ।
यसैक्रममा मंगलवार राती ८ बजेतिर घरमा परिवारसँगै बसीरहेका राजनलाई हेमन्तले फोन गरी पैसा लिन गठ्ठाघर आउन आग्रह गरे । हेमन्तको फोनपछि राजन आफ्नो नीजि गाडी लिएर गठ्ठाघर पुगे । गठ्ठाघरस्थित बर्गर हाउसमा दुवै जनाले चिया खाई लेनदेनको विषयमा छलफल गरे ।
छलफलकै क्रममा हेमन्तले राजनलाई हनुमन्ते खोला पारी दाई पैसा लिएर आएको छ, त्यहाँसम्म जाउँ भनी बहाना बनाई आफ्नो मोटरसाईकलमा चढाई हनुमन्तेको फलामे पुलसम्म लगे । त्यहाँबाट दुवै बालकोट जाने बाटोतर्फ पैदल हिँड्न थाले । अँध्यारो ठाउँमा पुग्ने बित्तिकै पूर्व योजना अनुसार एक्कासी पछाडीबाट प्रेम बिश्वकर्माले काठको फर्माले राजनको टाउकोमा प्रहार गरे । राजन जमिनमा ढले । त्यसपछि हेमन्त र प्रेम दुवैले राजनको टाउकाको अग्रभाग अनुहारमा पटक–पटक प्रहार गरेर घाईते बनाए ।
सोही अवस्थामा घटनास्थल नजिकै बस्ने स्थानीयले थाहा पाई कराउन थालेपछि हेमन्त र प्रेम फरार भए । ती स्थानीयले प्रहरीलाई खबरगरेपछि प्रहरी घटनास्थल पुगेर राजनलाई नजिकैको मध्यपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ पाण्डेले बताउनुभयो ।
मुख्य योजनाकार अनुसन्धानमा स्थानीय र प्रहरीसँगै
घाईते राजनलाई चिकित्सकले मृत घोषणा गर्ने बित्तिकै प्रहरीले घटनाको अनुसन्धानलाई तिब्रता दिए । घटनास्थलमा तत्काल महानगरीय प्रहरी प्रभाग बालकोटका प्रहरी नायव निरिक्षक (प्र.ना.नि) अम्बर बहादुर शाही नेतृत्वको टोली पुगेर राजनलाई उद्धार गरी मध्यपुर अस्पताल पुर्याएका थिए । त्यसपछि महानगरिय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक नरहरी रेग्मी नेतृत्वको टोलीले अनुसन्धान अघि बढाए ।
प्रहरीले राती नै तालिम प्राप्त कुकुर समेत परिचालन गरे । कुकुरले सबैभन्दा पहिले मृतकको गाडी पत्ता लगाए । प्रहरीले गाडीमा रहेको सवारी चालक अनुमति पत्रको आधारमा मृतकको नाम, थर र वतन पत्ता लगाए । प्रहरीले आफन्तलाई खबर गरे । आफन्तसँगै मृतकका साथीहरु मध्यपुर अस्पताल पुगे ।


मृतकको पहिचानसँगै प्रहरीले घटनाको अनुसन्धानलाई थप तिव्रता दिँदै सम्बन्धीत नाकाहरुमा जाँचलाई कडाई गरे । प्रहरीको अनुसन्धानलाई स्थानीय, आफन्त र साथीहरुले पनि सहयोग गरे । मध्यपुर अस्पतालमा जम्मा भएका स्थानीयले हत्याको सम्भावित कारण र संलग्न व्यक्तिको अनुमान लगाउँदै एकले अर्कोसँग सोधखोज गर्न थाले । यसैक्रममा राजनको हेमन्तसँगको आर्थीक कारोवारका बारेमा चर्चा भयो र हेमन्तको खोजी भयो ।
त्यतिखेर रातको करिव १२ बजी सकेको थियो । हेमन्तको खोजी गर्दा उनी घरमा रहेको पत्ता लाग्यो । उनलाई अस्पताल बोलाईयो । स्थानीय र राजनका आफन्त र साथीहरुले हेमन्तसँग सोधपुछ गर्दा केही जानकारी नभएको जवाफ दिए । त्यसपछि उनीपनि स्थानीय र प्रहरीसँगै घटनाको सत्य तथ्य पत्ता लगाउन सँगसँगै हिँड्न थाले ।
यसैक्रममा गठ्ठाघरमा मृतकको गाडी फेला परेको स्थानदेखी नजिकको सीसी क्यामरामा हेमन्तको मोटरसाइकलमा राजन सवार भएर गएको देखियो । त्यसपछि हेमन्तलाई सोधपुछ गर्दा केही तलसम्म पुर्याएको र त्यसपछिको अवस्था थाहा नभएको जवाफ दिए । त्यसबेलासम्म मुख्य आरोपी हेमन्त स्थानीय र मृतकका आफन्तसँगै बसी गफगाफ गरी चिया पिईरहेको मृतकका आफन्त भाइकाजी श्रेष्ठले बताउनुभयो ।
सबै कोणबाट शंकाको बाण हेमन्ततर्फ सोझिएपछि स्थानीयले हेमन्तलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाए । प्रहरीले हेमन्तसँग सोधपुछ गरेपछि उनकै बयानका आधारमा प्रेमलाई काठमाण्डौंको जोरपाटीबाट प्रहरीले पक्राउ गर्न सफल भयो ।
केही दिन अघि नै योजना
अनुसन्धानको क्रममा घटनाको केही दिन अगाडिदेखि नै राजनको हत्या गर्ने योजना बनेको खुल्न आएको छ । सोही योजना अनुसार मंगलवार राती ८ बजे हेमन्तले राजनलाई फोन गरी गठ्ठाघर बोलाएको खुल्न आएको प्रनाउ पाण्डेले बताउनुभयो ।
हत्या घट्नाको सत्य तथ्य छानबिन गर्न माग
यसैबीच स्थानीय र मृतकका आफन्तले घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न माग गरेका छन । उनीहरुले घटनामा अरु पनि संलग्न भएको हुनसक्न आशंका व्यक्त गर्दै घटनाको अनुसन्धानको दायरा थप फराकिलो गर्नुपर्ने माग गर्दै महानगरिय प्रहरी वृत्त थिमिमा बिहिवार दिनभर जसो धर्ना दिएका छन । सयौंको संख्यामा उपस्थित स्थानीयले केहीबेर नाराबाजी समेत गरेका थिए ।
उनीहरुले घटनास्थलको करिव एक सय मिटर पर रहेको एक घरको कम्पाउण्डभित्र विभिन्न स्थानमा देखिएको रगतको टाटाको बारेमा प्रहरीले निष्पक्ष छानविन र अनुसन्धान गर्नुपर्ने माग गरेका छन । मृतकको शारीरिक बनावटका कारण पनि दुई जनाले मात्र राजनको हत्या भएको हुन नसक्ने पिडित पक्षको दावी रहेको छ ।
यसैगरी राष्ट्रिय युवा संघ नेपालले पनि राजन श्रेष्ठको हत्या घटनालाई पारदर्शी र प्रभावकारी ढंगले अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउन माग गरेको छ । युवा संघ भक्तपुरले बिहिवार मध्यपुर थिमिमा पत्रकार सम्मेलन गर्दै घटना जुनसुकै कारणले भएको भएपनि सत्य तथ्य सार्वजनिक हुनुपर्ने माग गरेको हो ।


संघका जिल्ला अध्यक्ष पुष्पराज बस्नेतले पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती जारी गर्दै हत्या जुनसुकै बहानामा गरिएको भएपनि तत्काल दोषीमाथी कडा सजाय हुनुपर्ने माग गर्नुभयो । उहाँले घटनामा अपराधिक ढंगले निर्मम र बरबरतापूर्वक राजनको हत्या गरेको भन्दै घटनाको घोर निन्दा र भत्सर्ना गर्नुभयो ।
‘हत्या जे र जुनसुकै बहानामा गरिएको भयता पनि तत्काल दोषीलाई कडा भन्दा कडा कारवाहीको लागि संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ, अन्यथा राष्ट्रिय युवा संघ, नेपाल जस्तोसुकै कदम उठाउन बाध्य हुनेछ । जसको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने छ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सो अवसरमा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले विभत्स र क्रुर तबरले गरिएको हत्याको अनुसन्धानलाई प्रहरीले औपचारिकता मात्रै दिन खोजे देशभरका युवाले आन्दोलन चर्काउने चेतावनी दिनुभयो । उहाँले घटनामा पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेर घटनालाई औपचारिकता प्रदान गरी नपन्छिन प्रहरीलाई चेतावनी दिनुभयो ।
‘यो घटना एउटा संघीन अपराध हो, युवा संघको कार्यकर्ता भएर मात्र होइन एक कर्मठ र होनाहार युवाको हत्या भएको छ । प्रहरीले यो घट्नालाई औपचारिकता मात्रै दिएर तथ्यसम्म नपुगी अनुसन्धान रोक्न पाउँदैन, सत्य तथ्य बाहिर ल्याउनु पर्छ,’ उहाँले भन्नुभयो ।
उहाँले पनि घटनास्थल भन्दा केही परको घर कम्पाण्डदेखि फलामको रेलिङबार देखिएको रगतका बारेमा प्रश्न उठाउँदैं घटनामा पक्राउ परेका दुई जनाका अलावा अरु पनि संलग्न भएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनपछि संघले हत्यारालाई कारवाहीको माग गर्दै मध्यपुर थिमि शंखधरचोकस्थित अरनिको राजमार्गमा प्रदर्शन गरी केहीबेर सडक अवरुद्ध गरेका थिए ।